कुवेतमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने २ जना नेपाली पक्राउ

डिसी नेपाल
१९ भदौ २०७७ १६:०६

काठमाडौं। कुवेतमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने २ जना नेपाली पक्राउ परेका छन् । सुराकीको आधारमा अहमदी पुलिसले अपार्टमेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले महबुला उपमहानगरस्थित आफूहरु बस्ने अपार्टमेन्टलाई नै मदिरा कारखानामा परिणत गरेको पाइएको अल राइ दैनिकलाई उद्धृत गर्दै अरबटाइम्स अनलाइनले लेखेको छ ।

पुलिसले छापा मारेर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थका दर्जनौं ब्यारेल, मदिरा बनाउन प्रयोग हुने उपकरण र बेच्नको लागि बोतलमा भरेर तयारी अवस्थामा राखिएको मदिरा सिल गरेको छ । सुरुमा एक व्यक्ति झोलामा रक्सीका बोतलहरु लिएर हिँडिरहेको अवस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेपछि सोधपुछका क्रममा उनले आफूसँग अरु पनि भएको र रक्सी उत्पादन गर्ने कारखाना नै रहेको खुलासा गरेका थिए । उनैले बताएका आधारमा पुलिस अपार्टमेन्टसम्म पुगेको थियो । उनीहरुलाई सम्बन्धित अधिकारीलाई जाँचको लागि जिम्मा लगाइएको छ । यसअघि पनि कुवेतमा नेपालीहरु अवैध मदिरा उत्पादन र बिक्रीवितरणको अभियोगमा पक्राउ पर्ने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *