सीमामा तनावका बीच भारत–चीन रक्षा मन्त्रीस्तरीय वार्ता मस्कोमा

डिसी नेपाल
१९ भदौ २०७७ २३:०१

काठमाडौं। भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहेका बेला दुई मुलुकका रक्षामन्त्रीबीच वार्ता भएको छ। गएको मेदेखि शुरु तनावपछि यी दुई मुलुकबीच भएको यो उच्च स्तरको वार्ता हो। रुसको राजधानी मस्कोमा भारतीय रक्षा मन्त्री राजनाथ सिंह र उनका चिनियाँ समकक्षी वेई फंघेबीच वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

सांघाई सहयोग संगठनको मस्कोमा जारी बैठकमा सहभागी हुन दुबै देशका रक्षामन्त्री मस्को पुगेका थिए। मस्कोमै उनीहरुबीच वार्ता भएको हो। भारत र चीनबीच तनाव बढेपछि रुसले दुबै मुलुकलाई वार्ताको टेबुलमा ल्याएको विश्लेषण गरिएको छ। रुस चीन र भारत दुबैको मित्र देश हो। रुसको भारत र चीनसँग घनिष्ठ सम्बन्ध छ।

गएको मेदेखि भारत–चीन सीमामा तनाव जारी छ। यहीबीचमा गएको जुन १५ मा भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। त्यसपछि दुबै मुलुकबीच झण्डै युद्धको अवस्था बनेको थियो। त्यसपछि भएका वार्ताहरुमा प्रगति भएको बताइरहेका बेला अगस्ट २० र ३० मा फेरि सीमा क्षेत्रमा दुई देशका सेनाबीच मुक्कामुक्की भएको खबर बाहिरिएको थियो।

दुबै मुलुकले हाल सीमा क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरेका छन्।

भारत र चीनबीच करिब ३५ सय किलोमिटरको सीमा छ। तर, यो सीमा अन्तर्राष्ट्रिय सीमा भने होइन। दुई देशको भूभाग छुट्याउन लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बनाइएको छ। एलएसीमा दुबै देशको आ आफ्नो किसिमको दावीका कारण भारत र चीनबीच विवाद भइरहन्छ। सीमा विवादकै कारण १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो। तर, हालसम्म पनि सीमा विवाद समाधान भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *