अब सरकारी ल्याबमा पनि पैसा तिरेर कोरोना परीक्षण गराउन सकिने

डिसी नेपाल
२१ भदौ २०७७ १७:०७

काठमाडौं। अब सरकारी ल्याबमा पनि सशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गराउन सकिने भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा रहेका सबै सरकारी प्रयोगशलाबाट सशुल्क पीसीआर परीक्षण गराउन सकिने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सबै सरकारी प्रयोगशालाले आफूले पीसीआर परीक्षण गर्ने कुल संख्याको ५० प्रतिशत संख्या सशुल्क परीक्षण गर्न सक्ने मन्त्रालयले अनुमति दिएको बताए। उनले भने, ‘देशका सबै सरकारी ल्याबहरुमा सरकारी मापदण्डमा नपरेकाहरुको उनीहरुको इच्छा बमोजिम शुल्क लिएर पीसीआर गर्न सकिने अनुमति दिइएको छ।’

उनका अनुसार यस्तो सशुल्क परीक्षण मापदण्डमा नपरेकाहरुको मात्र हुनेछ। उनले ल्याबले परीक्षण गर्ने कुल संख्याको ५० प्रतिशतसम्म शुल्क लिएर यस्तो परीक्षण गराउन सकिने बताए। तर, यसका लागि ती ल्याबहरुले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सबै मेडिकल सामान आफै खरिद गर्नुपर्नेसमेत प्रवक्ता गौतमले बताए।

हाल सरकारले कन्ट्याक्ट ट्रेसिंग, ट्राभल हिस्ट्री, रेड जोन र अनुसन्धानका लागि प्रयोग हुनेहरुकोमात्र कोरोना परीक्षण गर्दै आएको छ। अब कसैले आफूलाई शंका लागेमा सरकारी ल्याबमा पैसा तिरेर कोरोना परीक्षण गराउन सक्ने भएका छन्।

सरकारले यसअघि निजी ल्याबहरुलाई सशुल्क परीक्षण गर्न अनुमति दिइसकेको छ। र निजी क्षेत्रले कोरोना परीक्षणका लागि ४ हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ। तर, सरकारी ल्याबका लागि भने शुल्क तोकिएको छैन।

यस्तै मन्त्रालयले काठमाडौंस्थित वीर अस्पताललाई कोभिड डेडिकेड अस्पताल बनाउने निर्णय गरेको छ। वीर अस्पतालबाट दिइँदै आएको सेवा अब राष्ट्रिय ट्रमा सेन्टरबाट दिइने प्रवक्ता गौतमले बताए।

उनले अर्थ मन्त्रालले ६० बेड आईसीयू सञ्चालनका लागि आइतबार बजेट निकासासमेत गरेको जानकारी दिए। उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, धुलिखेल अस्पताल र देशका अन्य अस्पतालमा आईसीयू बेड थपिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *