बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ

डिसी नेपाल
२१ भदौ २०७७ २३:२९

दमौली। बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन् । उनलाई घरबाट आइतबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। निजविरुद्ध जिल्ला अदालतले विसं २०७६ साउन २९ गते दुई महिना पाँच दिन कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई पक्राउ गरी आतइतबार नै जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले बहुविवाह, लागुऔषध, जुवा र चोरी मुद्दाका पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बहुविवाह मुद्दामा व्यास नगरपालिका–१२ सुपारेडाँडाका ३० वर्षीय करणबहादुर परियार पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ पुस १९ गते एक वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । निजलाई आजै पक्राउ गरी अदालत पेश गरिएकामा बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

त्यस्तै जुवा मुद्दाका फरार दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ बस्ने मङ्गलबहादुर पाख्रिन र रमेशकुमार श्रेष्ठ छन् । निजहरुविरुद्ध जिल्ला अदालतले विसं २०७४ असोज २९ गते जनही रु तीन सय जरिवानाको फैसला गरेको थियो । निजहरुलाई पनि आजै अदालत पेश गरिएकामा तोकिएको कैद भुक्तान गरी छुटेका छन् ।

लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–१ बस्ने ३६ वर्षीय विष्णुबहादुर सुनारी पनि पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७४ भदौ ८ गते दुई महिना कैद र रु दुई हजार जरिवानाको फैसला गरेको थियो । पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

चोरी मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ बस्ने २० वर्षीय सुमित गुरुङ पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालत चितवनले विसं २०७३ चैत १३ गते तीन दिन कैदको फैसला सुनाएको थियो । पक्राउ परेकालाई आजै अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *