कतारमा श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिनेमाथि कडाइ, ठूलो मात्रामा सजाय बढाइयो

डिसी नेपाल
२२ भदौ २०७७ ९:११

काठमाडौं। कतार सरकारले श्रमिकसम्बन्धि कानुनमा कडाइ गरेको छ । अब त्यहाँ श्रमिकलाई न्यूनतम पारिश्रमिक नदिनेलाई १ वर्ष जेल र १० हजार कतारी रियाल जरिवानाको सजाय हुनेछ । कतार ट्रिब्युनका अनुसार अहिले सजायको परिमाण बढाइएको हो । यसअघि एक महिना जेल र ६ हजार रियाल जरिवानाको व्यवस्था थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको श्रमिक निरीक्षण विभागका निर्देशक फहाद अल दोसारीले आइतबार यस्तो बताएको समाचारमा जनाइएको छ ।

दोसारीका अनुसार विदेशी श्रमिकलाई न्यूनतम पारिश्रमिकको दर निर्धारण गर्न एक समिति गठन गरी विस्तृत अध्ययन गरेपछि पारिश्रमिकको दर निर्धारण गरिएको हो । दोसारीका अनुसार विदेशी श्रमिकको लागि न्यूनतम पारिश्रमिक १ हजार रियाल निर्धारण गरिएको छ । श्रमिकलाई घरभाडापावत थप ५ सय रियाल र खानाको लागि अर्को ३ सय रियालसमेत रोजगारदाताले दिनुपर्नेछ । रोजगारदाता आफैंले खान र बस्न दिएको अवस्थामा भने यो थप रकम दिनु पर्ने छैन र न्यूनतम पारिश्रमिक १ हजार रियाल मात्र हुनेछ ।

यो निर्णयको उद्देश्य दक्ष कामदारलाई आकर्षित गर्ने, अर्थतन्त्रलाई उकास्ने र उत्पादकत्व बढाउने रहेको दोसारीले बताए । यो निर्णय राजपत्रमा प्रकाशित भएको मितिले ६ महिनापछि लागू हुनेछ । अल दोसारीले नयाँ कानुनले घरेलु कामदारसहित सबै किसिमका श्रमिकलाई समेट्ने बताए । यदि कुनै श्रमिकले न्यूनतम पारिश्रमिक भन्दा बढी पारिश्रमिक पाएको अवस्थामा भने यो कानुनले उसको पारिश्रमिकलाई कुनै प्रभाव नपार्ने उनले प्रस्ट पारे ।

रोजगारदाताले श्रमिकलाई खाने र बस्ने व्यवस्था आफैंले गर्दा समेत निर्धारित मापदण्ड पूरा गर्नुपर्नेछ । श्रमिकको बसोवाससम्बन्धी मापदण्डको उल्लंघन गर्नेलाई ६ महिनाको जेल सजाय र २ हजार रियालमा नघट्ने र १० हजार रियालमा नबढ्ने गरी जरिवानाको सजाय हुने अल दोसारीले बताए । उल्लंघनका घटना दोहोरिएमा सजाय झनै कडा हुने उनले बताए ।

श्रमिक सम्बन्ध विभागमा निर्देशक अब्दुल्लाह अल दोसारीले नयाँ श्रम कानुनले श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिएको छ तर यसका केही शर्तहरु छन् । परीक्षणकालमै श्रमिकले रोजगारदाता परिवर्तन गर्न चाहेमा उसले रोजगारदाता परिवर्तन गर्न पाउनेछ तर नयाँ रोजगारदाताले पुरानो रोजगारदातालाई श्रमिकलाई भर्ती गर्दाको खर्चको केही अंश र हवाइ टिकटको पैसा क्षतिपूर्तिस्वरुप दिनेछ ।

श्रमिकले रोजगारदाता छोड्न चाहेमा २ वर्षभन्दा कम समयदेखि काम गरिरहेको भए १ महिना र २ वर्षभन्दा बढी समयदेखि काम गरिरहेको भए २ महिना पहिले नै रोजगारदातालाई सूचना दिनुपर्नेछ । परीक्षणकालको हकमा श्रमिकले रोजगारदातालाई १ महिनाको सूचना दिनुपर्नेछ र नयाँ रोजगारदाताले पुरानो रोजगारदातालाई सहमति गरिएको निश्चित रकम दिनेछ । तर, यो रकम श्रमिकको २ महिहनाको तलबभन्दा बढी हुने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *