गुजारा नचलेपछि महामारीकै बीच युवाहरू फेरि भारततर्फ सोझिँदै

डिसी नेपाल
२३ भदौ २०७७ ६:५३

महेन्द्रनगर। सोमबार बिहान कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा सात जनाको समूह भेटियो । उनीहरूले निधारमा रातो टीका, कानमा फूल, मुखमा मास्क र पिठ्यूँमा झोला भिरेका थिए । नेपालतर्फ बेला–बेला फर्केर हेर्दै, भारततर्फ आफ्ना पाइला अगाडि बढाइरहेका थिए उनीहरू। त्यही सात जनाको समूहमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका ३२ वर्षीय गणेशदत्त जोशी पनि छन्।

जोशी महामारीको संक्रमणबाट बच्न चैत महिनामा भारतको बैंगलोरबाट गड्डाचौकी नाका हुँदै नेपाल फर्किनुभएको थियो । तर, काम नगरीकन बस्दा घर चलाउनै समस्या भएपछि उनी महामारीकै बीच रोजगारीका लागि फेरि भारत पसेका हुन्। ‘कोरोनाबाट बच्न रोगले मरे पनि नेपालमै मर्छु भन्दै चैतमा भारतबाट घर फर्किएको थिएँ।’ जोशीले भने, ‘तर के गर्नु यहाँ रोगले भन्दा पहिला भोकले मर्नुपर्नेजस्तो स्थिति आयो।’ घर फर्किएको ६ महिनासम्म बेरोजगार बस्नुपर्दा दुई छाक टार्न पनि मुस्किल भएपछि फेरि भारत जान बाध्य भएको जोशीले बताए।

उनले भने, ‘भोकले मर्नुभन्दा त रोगले मर्नु राम्रो जस्तो लागेर बाध्य भई भारत जाँदै छु ।’ ‘गाउँमा कामको खोजीमा थुप्रै ठाउँ भौतारिएँ तर लेबरको काम पनि नपाएपछि ज्यान जोखिममा राखेर हिँडेको छु।’

त्यही समूहमा रहनुभएका ३० वर्षीय पदमदत्त जोशीको गुनासो पनि उस्तै छ। ‘यहाँ पावर र राजनीतिक चिनजान भएपछि मात्र काम पाइने रहेछ। तर, के गर्नु आफ्नो न पावर छ, न त कसैसँग चिनजान नै छ,’ जोशीले भने।

त्यस्तै, नेपालमा गुजारा नचलेपछि कामको खोजीमा भारत गइरहेका भीमदत्त नगरपालिका–१० सुकासालका चन्द्रबहादुर दमाईंको परिवार पनि नाकामा भेटियो। चन्द्रबहादुरको परिवार पनि चैत महिनामा स्वदेश फर्किएको थियो। ‘सरकारले केही काम त दिन्छ होला भन्ने आसले ६ महिनासम्म प्रतीक्षा गरियो ।’ उनले भने, ‘तर सरकारले हामीलाई हेरेन, त्यसैले पेट पाल्न श्रीमतीसहित चार बच्चा लिएर भारत जाँदै छु ।’ नाकामा जोशी र दमाईं जस्तै थुप्रै समूह तथा परिवार भारततर्फ सोझिँदै थिए । भदौ सुरु भएसँगै नेपाली युवाहरूको भारत जाने क्रम सुरु भएको हो ।

विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवाहरू जसोतसो नाकासम्म पुग्ने गरेका छन् । एक सातादेखि भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिनुभएका प्रहरी नायव निरीक्षक रामबहादुर बमले बताए।

उनका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०/७० जना भारत पसिरहेका छन्। सई थापाले भने, ‘अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार पछिल्लो एक सातामा मात्रै एक हजार ११८ जना गौरीफन्टा नाका र ३५० जना नेपाली गड्डाचौकी नाका भएर भारत पसेका छन् ।

नेपालीहरू ठूलो संख्यामा मुम्बई, गुजरात, राजस्थान, पञ्जाब, बैंगलोरलगायत सहर बढी जाने गरेका छन् । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको बमले बताए। कामका लागि भारत पस्ने कसैसँग रासन (आधार) कार्ड छ, कसैसँग छैन । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर पनि भारत पस्ने गरेका सई बमले जानकारी दिए।

‘सरकारले रणनीतिक योजना ल्याउन सकेन’

भारतबाट फर्किएका युवा जनशक्तिहरूलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा पुनः भारततर्फ जानुपरेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले बताउनुभयो । तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनको टिप्पणी छ। ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो । तर, सरकारले सीपमूलक रोजगारको सृजना गर्न सकेन।

सरकारले केही रणनीतिक योजना नै ल्याएन,’ उनले भने, ‘त्यसैले जहाँबाट जनशक्ति आएका थिए, त्यहीँ जान बाध्य भएका छन्।’ स्थानीय, प्रदेश र संघीय सरकारले भारतबाट स्वदेश आएका युवा जनशक्तिका लागि रोजगारी सृजना गर्ने कुनै ठोस योजना ल्याएका छैनन् । जसले गर्दा रोजगारीविहीन भएर जीविकोपार्जन गर्नै धौ–धौ परेपछि कामको खोजीमा भारत जानुपर्ने बाध्यता सृजना भएको छ ।

भारतबाट फर्किएकाहरूको सीप पहिचान गरी उनीहरूलाई रोजगारीमा जोड्ने कार्यक्रम ल्याउन स्थानीय तहलाई भनिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले बताए। स्थानीय तहहरूलाई रोजगारमा जोड्ने विभिन्न कार्यक्रम ल्याएको उनको दाबी छ। याे समाचार हिमालय टाइम्स दैनिकमा देवेन्द्र खड्काले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *