नेकपा अध्यक्षद्वयबाट कार्ययोजनासहितको प्रस्ताव तयार

डिसी नेपाल
२५ भदौ २०७७ ७:०४

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले ‘विवाद समाधान’ कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरेका छन्।

अध्यक्ष ओली–दाहालले भदौ २६ गते बस्न गइरहेको पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्न कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरेका हुन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा गत सोमबार बिहान अध्यक्षद्वय ओली र दाहालबीच गत साउन १३ गते स्थगित भएको बैठक भदौ २६ गते बोलाउने सहमति भएको थियो।

अध्यक्षद्वयबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले स्थायी कमिटीको बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

पार्टीको आन्तरिक विवाद मिलाउन महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो। गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित भएर बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीका काममा आफूलाई केन्द्रित गर्ने, आवश्यकताअनुसार मन्त्रिपरिषद् हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव समेटिएका छन्।

नेकपामा आन्तरिक विवाद बढेपछि गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १७ गतेपछि बस्न सकेको छैन। यो अवधिमा स्थायी कमिटी बैठक पटक–पटक गरी सातपल्ट स्थगित भइसकेको छ। अध्यक्षद्वय ओली र प्रचण्डबीच कुरा नमिलेका कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।

नेकपाले स्थायी कमिटीका लागि वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टीका कामको समीक्षा र संगठनात्मक एकताको बाँकी काम, अमेरिकी सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र विविध गरी सातवटा एजेन्डा तय गरेको थियो।

विविध प्रस्तावअन्तर्गत रुकुम घटना, नागरिकता विधेयक र कोभिड–१९ को कहरका कारण सांसद र अन्य राजकीय पदमा रहेकाहरूको सेवा, सुविधा, भत्ता कटौतीबारे छलफल गर्ने कार्यसूची राखिएको थियो । बैठकको सुरुको दिन अध्यक्षद्वय ओली र दाहालले सम्बोधन गर्नुभएको थियो । यस्तै असार १२ र १३ गते बसेको बैठक नयाँ नक्सा प्रकाशन र सीमा समस्यामा केन्द्रित भएको थियो ।

तर, असार १४ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टीका नेताहरू भारतसँग मिलेर सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाएपछि बैठकको कार्यसूची परिवर्तन हुन पुगेको थियो । असार १६ गतेको बैठकमा सचिवालयका पाँचजना नेतासहित ११ स्थायी कमिटी सदस्यले उनको राजीनामा मागेका थिए भने असार १८ गते प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएनन्। त्यही समयमा उनले संसद्को चालु अधिवेशन अन्त्य गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *