प्रधानसेनापतिद्वारा ‘मर्दाका मलामी’ सैनिकलाई सम्मानको घोषणा

डिसी नेपाल
२६ भदौ २०७७ ७:०९

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना लागेर मृत्यु भएका व्यक्तिहरुको शवको अन्तिम संस्कारमा संलग्न हुने सैनिकहरुलाई सम्मान गर्ने घोषणा गरेका छन्।

उनीहरुलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ ले सम्मान गरिने भएको छ। त्यसैगरी लिपुलेक, लिम्पियाधुरा क्षेत्रको टिंकरमा भीर खोपेर बाटो बनाउन संलग्न हुने नेपाली सेनाका सबै दर्जालाई सो सम्मानले सम्मानित गर्ने घोषणा सेनापति थापाले गरेका छन्।

‘मर्दाको मलामी’ बनेका सैनिकहरुको उच्चमूल्यांकन गर्दै सेनापतिले भदौ २४ गते यस्तो घोषणा गरेका हुन्। तीन वर्षको सेनापति पदको कार्यकालका दुई वर्ष पूरा भएको अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित ब्रिगेडियर दर्जासम्मका जर्नेलहरु सम्मिलित एउटा समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले ‘कोरोना भाइरससँग लड्दा लड्दै देहत्याग गर्ने आमनागरिकहरुको मर्दाको मलामी भई यस धर्तीबाट अन्तिम विदाइ गर्ने कार्यमा समर्पित हुने’ सैनिकहरुलाई सो सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्।

देशभरका सैनिक युनिटहरुबाट मर्दाका मलामी सैनिकहरुको नाम सिफारिस भएर मुख्यालयमा पठाइने र उनीहरुलाई सो ‘निशान’बाट सम्मान गरिने सैनिक स्रोतले बताएको छ।

छिमेकी मुलुक भारतमा कोरोना माहामारीका कारण मृत्युबरण गरेका नागरिकहरुलाई घिसार्दै अपमानपूर्वक गाडेका दृश्य सार्वजानिक भइरहेका बेला नेपाली सेनाले भने कोरोना भाइरस महामारीबाट मृत्युबरण गरेका नेपाली नागरिकहरुको शवलाई सलामीका साथ अन्तिम संस्कार गर्दै आएको छ। र, त्यससम्बन्धी तस्वीरहरु पनि मृतकका आफन्तहरुले सार्वजानिक गरेका छन्।

छिमेकी मुलुक भारतमा कोरोना माहामारीका कारण मृत्युबरण गरेका नागरिकहरुलाई घिसार्दै अपमानपूर्वक गाडेका दृश्य सार्वजानिक भइरहेका बेला नेपाली सेनाले भने कोरोना भाइरस महामारीबाट मृत्युबरण गरेका नेपाली नागरिकहरुको शवलाई सलामीका साथ अन्तिम संस्कार गर्दै आएको छ। र, त्यससम्बन्धी तस्वीरहरु पनि मृतकका आफन्तहरुले सार्वजानिक गरेका छन्।

यसैगरी, कोरोना भाइरसको महामारीको समयमा सीमानाका, प्रवेश विन्दु र होल्डिङ एरियाहरुमा, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुमा कोभिड १९ विरुद्धको लडाईंको अग्रमोर्चामा परिचालित हुने नेपाली सेनाका स्वास्थ्यकर्मीसहितका सैनिकहरुको उच्चप्रशंसा समेत गरेका छन्।

दार्चुलामा बाटो बनाउनेलाई पनि सम्मान

नेपाल भारतकाबीच हाल विवादित बनेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग निकट रहको दार्चुला जिल्लाको छारुङ्गमा भीरलाई खोपेर गोरेटो बाटो बनाउने कार्यमा संलग्न नेपाली सेनाका सबै दर्जाका सैनिकहरुलाई पनि प्रधानसेनापति प्रशंसा निशाना प्रदान गर्ने घोषणा पनि सोही समारोहमा सेनापति थापाले गरेका थिए।
समाचारअनुसार, दुर्गम जिल्लाहरुलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्य अन्तर्गत सो गोरेटो बाटो निर्माणाधीन छ।

र, नेपाली सेनाले अव एक महिनाभित्रै सो बाटो निर्माणकार्य समापन गर्ने भएको छ। गत जेठ महिनादेखि सैनिक टोली दार्चुलाको घाटीबगरको बाटो निर्माण कार्यमा संलग्न रहँदै आएको छ। यस क्रममा दार्चुला जिल्लाका स्थानीय वासिन्दा दिवानसिंह धामीको भीर फोड्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो। प्रधानसेनापति थापाले स्वर्गीय धामीलाई पनि मृत्युपछि प्रधानसेनापति प्रशंसा निशानले सम्मान गर्ने घोषणा गरेका छन्।

भेटिएको पैसा फिर्ता गर्ने प्युठलाई सेनापति सम्मान

प्रधानसेनापति थापाले नेपाली सेनाका हरेक दर्जाका व्यक्तिहरु चरित्रवान हुनुपर्ने भन्दै सत्चरित्र देखाई उदाहरण प्रस्तुत गर्नेप्रति गौरव बोध हुने धारणा राखेका छन्। सोही कार्यक्रममा उनले त्यस्तो उदाहरण पेश गर्ने सेनाका प्युठ मेघबहादुर अधिकारीलाई प्रधानसेनपाति प्रशंसा निशान प्रदान गरिएको प्रसंग सबैका लागि उदाहरणका रुपमा प्रस्तुत गरेका थिए।

समाचारअनुसार, झापाको श्री नयाँ श्रीनाथगणमा कार्यरत प्युठ अधिकारीले बाटोमा एकलाख रुपैयाँ भेट्टाएको र सो रकम आफूले नराखी प्रहरी चौकीमा लगेर बुझाएका थिए। सेनपाति थापाले प्युठ अधिकारीले बास्तविक सैनिक निष्ठा र चरित्र प्रदर्शन गरेको भन्दै अरु सैनिकहरुको हौसला बढाएको कार्यक्रममा सहभागी एक सैनिक अधिकृतले डिसी नेपाललाई बताए।

‘जानकी नहर’ बनाउने वाहिनीलाई सम्मान
यसैगरी नेपालभारत तराई सीमा क्षेत्रमा नेपाली सेना खटाएको भन्दै तराईका केही नेताले विरोधमा कुरा उठाएको सन्दर्भमा नेपाली सेनाको एउटा टोलीले बर्दिवासमा ‘जानकी नहर’ बनाएको छ।

आफ्नै आन्तरिक श्रोतबाट सो नहर सम्पन्न गर्न खटिने सेनाको १४ नं वाहिनी अन्तर्गत अभ्यास संरक्षणसँग अवद्ध सैनिकहरुको प्रशंसा गर्दै सेनापति थापाले सो कार्य गरेवापत १४ नं वाहिनीलाई नै ‘प्रधानसेनापति प्रशंसा निशान’ ले सम्मान गर्ने घोषणा गरेको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *