कोरोना कसरी नियन्त्रण गर्‍यो पाकिस्तानले? भारत पनि प्रशंसा गर्न बाध्य

डिसी नेपाल
२७ भदौ २०७७ २०:१९

काठमाडौं। अहिले कोरोना संक्रमणको सबै रेकर्डहरु छिमेकी मुलुक भारतले तोडिरहेको छ। विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकहरुको दोस्रो सूचीमा रहेको भारतमा दैनिक ९३ हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन्।

नेपालमा पनि हजारभन्दा धेरै संक्रमित थपिरहेका छन्। कोरोना महामारीको इपिसेन्टर अहिले दक्षिण एशियाली मुलुक भारत बन्दै गएको छ। चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको इपिसेन्टर चीनसँग सीमा जोडिएको भारतसम्म आइपुग्न करिब ६ महिना लाग्यो। गएको जनवरीमा वुहानमा पहिलो कोरोना संक्रमित फेला परेका थिए भने, अहिले अगस्टमा भारतमा दैनिक करिब एकलाख संक्रमित फेला पर्ने गरेका छन्। भारतमा हालसम्म ४६ लाचख ९० हजार संक्रमित छन्।

तर, अविश्वनीय रुपमा भारतको छिमेकी मुलुक अर्को दक्षिण एशियाली मुलुक पाकिस्तानमा भने कोरोना नियन्त्रणमा छ। र त्यहाँ संक्रमण दर दैनिक घटिरहेको छ। वर्ल्ड मिटरका अनुसार शनिबार पाकिस्तानमा मात्र ५८४ भन्दा धेरै नयाँ संक्रमित केस फेला परेका छन्। र पाकिस्तानमा हालसम्म ३ लाख १ हजार १६० जना संक्रमित भएका छन् भने ६ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा जून महिनादेखि कोरोना नियन्त्रणमा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यसअघि भने पाकिस्तानमा कोरोना संक्रमण उच्च विन्दुमा थियो। त्यतिबेला त्यहाँका अस्पतालहरु भरिएका थिए भने मृत्यु पनि उच्च दरमा भएको थियो।

तर, जुलाई शुरु भएपछि पाकिस्तानमा एकाएक कोरोना संक्रमण घट्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानले कोरोना संक्रमणलाई नियन्त्रणमा लिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख ट्रेडस अदनोमले पाकिस्तानको निकै प्रशंसा गरेका छन्। उनले विश्वमा कोरोनाको व्यवस्थापन गर्ने केही सफल मुलुक मध्ये पाकिस्तान पनि एक भएको भन्दै प्रशंसा गरेका छन्।

डब्ल्यूएचओले प्रशंसा गरेपछि सँधै पाकिस्तानको विरोध गर्ने भारतीय सञ्चार माध्यम पनि पाकिस्तानको प्रशंसा गर्न बाध्य भएका छन्। भारतीय सञ्चार माध्यम आजतकले पाकिस्तानले कोरोना नियन्त्रण गरेकोमा प्रशंसा गरेर समाचार प्रकाशित गरेको छ। भारतीय सञ्चार माध्यमले पाकिस्तानको प्रशंसा गरेको समाचारहरु विरलै देखिन्छन्। यो समाचार त्यहि मध्येको एक हो।
यसरी सबैतिरबाट प्रशंसा पाउने गरी पाकिस्तान सरकारले गर्यो के त भन्ने प्रश्न उठ्छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानले अन्य मुलुकको जस्तो देश व्यापी लकडाउन पनि लगाएन। छिटै अन्तर्राष्ट्रिय तथा घरेलु उडान शुरु गर्यो र अब विद्यालय खोल्ने अन्तिम तयारीमा छ। पाकिस्तानमा माध्यमिक विद्यालय यही सेप्टेम्बर १५ देखि खुल्दै छन् भने निम्न माध्यमिक विद्यालय २३ सेप्टेम्बरबाट खुल्ने छन् र ३० सेप्टेम्बरबाट प्राथामिक विद्यालय पनि खुल्नेछन्।

यसरी कोरोना विरुद्धको लडाईँमा सफलता पाउन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इक भिडियो सन्देश दिँदै देश व्यापी लकडाउन गर्न नसकिने, स्मार्ट लकडाउन गरिने बताएका थिए। उनले देश व्यापी लकडाउन भए अर्थतन्त्र ध्वस्त हुने र गरिब जनता भोकले मर्ने बताएका थिए। उनले गरे पनि त्यस्तै । जुन स्थानमा संक्रमण देखिन्छ, त्यो ठाउँमा मात्र लकडाउन गरे। र उनले सबैभन्दा महत्वपूर्ण काम संक्रमण फैलिन नदिन कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाए।

यसका लागि पाकिस्तान सरकारले पोलियो उल्मुलनका लागि बनाइएको सामान्य संरचना प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानमा पोलियो उल्मुलनका लागि घर घरमा पुगेर खोप दिइएको थियो। त्यसका लागि व्यापक स्वयम सेवक परिचालन गरिएको थियो। अहिले इमरान खानले पनि त्यहि गरे। उनले कन्ट्याक्ट ट्रेििसंगलाई प्रभावकारी बनाउन पोलियो उल्मुलनमा खटाइएका मानिसहरुलाई खटाए। उनीहरुले गाउँमा आउने नयाँ मानिसबारे जानकारी राखे। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि निगरानीमा राखे। आखिर यही संरचना नै पाकिस्तानमा कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *