विश्वकै शक्तिशाली देश बन्ने बाटोमा चीन !

डिसी नेपाल
२८ भदौ २०७७ ९:०७

काठमाडौं। कोरोनाभाइरस महामारीका विषयमा विभिन्न आरोपहरु झेलिरहेको चीन अब कैयौं देशहरुसँग आफ्नो सम्बन्ध सुधारमा जुटेको छ । यसको लागि उसले आफ्नो कोरोनाभाइरस भ्याक्सिनलाई हतियार बनाइरहेको छ । भ्याक्सिन सफल घोषित हुनुभन्दा पहिल्यै चीनले कैयौं देशहरुलाई खोप दिने घोषणा गरिसकेको छ ।

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार फिलिपिन्सले चीनको कोरोनाभाइरस भ्याक्सिन छिटै पाउनेछ । ल्याटिन अमेरिकी र क्यारेबियन देशहरुलाई चीनले एक अर्ब डलर ऋण उपलब्ध गराउने भएको छ ताकि ती देशहरुले औषधि खरिद गर्न सकुन् । बंगलादेशलाई चीनको कम्पनीले १ लाख डोज भ्याक्सिन निःशुल्क दिने भएको छ ।

चीनले भ्याक्सिनको ट्रायलको लागि पाकिस्तानसँग पनि सम्झौता गरेको छ र पाकिस्तानमा चीनको भ्याक्सिनको ट्रायल सुरु भइसकेको छ । यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि चीनको कुनै पनि भ्याक्सिन अहिलेसम्म सफल घोषित भइसकेको छैन । चीनका सबै भ्याक्सिनको अन्तिम चरणको ट्रायल अहिले जारी छ । तर, अन्तिम नतिजा आउनुभन्दा पहिले नै चीनले विश्वका कैयौं देशहरुलाई हातमा लिन सुरु गरिसकेको छ ।

कोरोनाभाइरसका कारण विश्वमा चीनको छवि निकै बिग्रिएको छ । पश्चिमी देशहरुसहित अस्ट्रेलियाले समेत चीनमाथि भ्याक्सिनको बारेमा जानकारी लुकाएको आरोप लगाएको छ । यस्तो स्थितिमा चीन भ्याक्सिनमा तीब्र गतिमा काम गरेर पहिलेको स्थितिबाट अगाडि निस्किने कोसिस गरिरहेको छ । पछिल्लो रिपोर्टअनुसार अहिले विश्वका सबैजसो देशको अर्थतन्त्र ऋणात्मक भएको छ तर चीनको मात्रै आर्थिक वृद्धिदर बढ्दो क्रममा छ ।

२०२० को सुरुवाती तीन महिनाको रिपोर्टमा चीनको आर्थिक वृद्धिदर पनि नकारात्मक थियो तर चीनले छिटै त्यसलाई सुधार गर्दै आर्थिक वृद्धिमा गति लिइसकेको छ । यस्तोमा विश्वका धेरै देशहरुलाई आफ्नो हातमा लिने चीनको यो कोसिसलाई ऊ विश्व महाशक्ति बन्ने प्रयासमा रहेको संकेतको रुपमा बुझिएको छ । यद्यपि भ्याक्स्नि सफल घोषित हुने र त्यसको ठूलो परिमाणमा उत्पादन गर्नको लागि चीनलाई अझै केही महिना लाग्न सक्छ ।

इण्डोनेसियासँग बेइजिङको सम्बन्ध राम्रो थिएन तर चीनका राष्ट्रपति शी जिनपिङले इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई विश्वास दिलाएका छन् कि भ्याक्सिनको विषयमा उनको चिन्ता र आवश्यकता पूरा गर्न चीन गम्भीर छ । चीनले यसरी विश्वका धेरै देशहरुलाई भ्याक्सिनको आडमा आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहँदा ऊ विश्वको शक्तिशाली देश बन्नेतर्फ अगाडि बढ्ने अनुमान गरिएको छ किनकि अमेरिकाले यसअघि नै कोरोना भ्याक्सिनका विषयमा विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी नहुने निर्णय गरिसकेको छ । यस्तोमा विभिन्न देशहरुको सहयोग गरेर चीन महामारीपछि विश्वको शक्तिशाली देशको रुपमा उदाउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *