राजनीतिक संकटमा फसेको मालीमा संक्रमणकालीन सरकार गठन गर्न सहमति

डिसी नेपाल
२८ भदौ २०७७ २०:०५

बामाको । राजनीतिक संकटमा फसेको अफ्रिकी मुलुक मालीमा सैनिक नेताहरु, राज्यका उच्च पदाधिकारीहरु र नागरिक समाजबीच संक्रमणकालीन सरकार गठन गर्न सहमति भएको छ ।

स्रोतका अनुसार यो संक्रमणकालीन सरकार १८ महिनाका लागि हुनेछ । यद्यपी यस सहमतिका बारेमा औपचारिक घोषणा गरिएको छैन ।

गत महिना मालीका राष्ट्रपतिलाई सेनाले अपदस्थ गरेपछि अहिले त्यहाँ सैनिक शासन लागू छ । बहुपक्षीय वार्तामा सहभागीहरुका तर्फबाट प्रवक्ता तोकिएका मौसा कामराले मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, संक्रमणकालीन सरकार र राष्ट्रिय कमिटी गठनका बारेमा सहमति भएको जनाकारी दिए ।

वार्तामा सहभागीबीच मुलुकको आधारभूत कानुन र आगामी मार्गचित्रका बारेमा पनि सहमति जुटेको छ । सैनिक नेतृत्वको राष्ट्रिय कमिटीका प्रमुख समेत रहनु भएका कर्णेल आस्सिमी गोइटाले प्रस्तावित योजनालाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्ने विश्वास व्यक्त गरे ।

गत अगष्ट १८ मा मालीका सेनाको एक समूहले राजधानी बामाको नजिकको सैनिक अखडाबाट विद्रोह गरेका थिए । उनीहरुले राजनीतिक सुधार र नयाँ चुनाव समेतका माग राखेका थिए ।

विद्रोहका क्रममा सेनाले तत्कालीन राष्ट्रपति इब्राहिम बउबाकर केइटा र प्रधानमन्त्री बउबउ सिस्से समेतका उच्च राजनीतिक व्यक्तिहरुलाई गिरफ्तार गरेका थिए ।

सेनाको नियन्त्रणमा परेलगत्तै केइटाले तत्कालै राजीनामाको घोषणा गरी संसद विघटनको घोषणा गरेका थिए । सेनाले पनि राष्ट्रिय कमिटी गठन गरी नयाँ चुनाव नहुँदासम्म संक्रमणकालीन सरकार गठन गर्ने भन्दै योजना घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *