कोरोना भाइरस महामारीबाट जोगिएको न्यूजील्याण्ड खराब आर्थिक मन्दीको मारमा

डिसी नेपाल
१ असोज २०७७ १७:०२

बीबीसी । न्यूजील्याण्ड अहिले दशकौँ यताको सबभन्दा खराब आर्थिक मन्दीको मारबाट गुज्रिरहेको छ। कोभिड–१९ महामारीविरुद्ध लगाइएका कडा बन्देजहरूका कारण अर्थतन्त्र धरमराएको छ।

यसअघि महामारी नियन्त्रणमा पाएको सफलताका कारण न्यूजील्याण्ड प्रशंसित थियो।

४० वर्ष यताको खराब मन्दी

एप्रिलदेखि जुनको अवधिमा न्यूजील्याण्डको कुल गार्हस्थ उत्पादन जीडिपी १२.२% ले घटेको पाइएको छ। लकडाउन तथा सिमानाका बन्दका कारण अर्थतन्त्र प्रभावित भएको बताइन्छ।

सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटयता न्यूजील्याण्डको यो पहिलो आर्थिक मन्दी हो भने वर्तमान आर्थिक हिसाबकिताब प्रणाली स्थापना गरिएको सन् १९८७ यताकै यो सबभन्दा खराब गिरावट हो।

तर सरकारले महामारी नियन्त्रणका लागि चालेका प्रभावकारी कदमका कारण खराब अवस्थाबाट अर्थतन्त्र छिट्टै सुध्रने आशा गरेको छ। पचास लाख जनसङ्ख्या भएको न्यूजील्याण्ड छोटो समयको निम्ति भाइरसमुक्त घोषित भएको थियो।

अहिले त्यहाँ थोरै सङ्क्रमण पाइएको छ र हालसम्म २५ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ। आगामी महिना हुने चुनावमा अर्थतन्त्र प्रमुख मुद्दा बन्ने देखिन्छ। अगस्टमा सङ्क्रमण बढेपछि चुनाव केही पछाडि सारिएको थियो।

देशको तथ्याङ्क कार्यालय स्ट्याट्स न्यूजील्याण्डका प्रवक्ता पाउल पास्कोले मार्च १९ देखि लागु गरिएका विभिन्न उपायहरूका कारण अर्थतन्त्रका केही क्षेत्रमा ठूलो प्रभाव परेको छ।

‘खुद्रा व्यापार, आतिथ्य तथा रेस्टुराँ, र यातायात जस्ता क्षेत्रमा निकै गिरावट भयो किनकी ती क्षेत्रमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध एवं राष्ट्रिय लकडाउनको प्रत्यक्ष असर पर्‍यो,’ उनले भने।

चाँडै सुध्रने आशा

प्रधानमन्त्री जेसिन्डा आर्डर्नको सरकारले महामारीविरुद्ध पाएको सफलताका कारण आर्थिक समस्यापनि चाँडै सल्टने बताएको छ। अर्थमन्त्री ग्र्यान्ट रोबर्टसनले जीडीपीका आँकडा सोचेभन्दा राम्रै देखिएको र आगामी दिनमा बलियो सुधार हुने बताए।

‘चाँडै र कडा उपाय अपनाएका थियौँ। अब हाम्रो सुधार पनि तीव्र र बलियो हुनेछ,’ उनले भने। कतिपय अर्थविद्हरूले पनि छिट्टै सुधार हुने अनुमान गरेका छन्।

‘कीर्तिमान तोड्ने गरी भएको गिरावटपछि अब सेप्टेम्बरको त्रैमासिक अवधिमा कीर्तिमान तोड्ने गरी सुधार हुने हाम्रो अपेक्षा छ,’ वरिष्ठ अर्थशास्त्री माइकल गोर्डनले बताए।

तर बुधवार प्रकाशित प्रक्षेपणमा धेरै मात्रामा कर्जा रहेको र निरन्तरका खलबलीले सुधारमा ढिलाइ हुनसक्ने सङ्केत गर्छ। विपक्षी न्याश्नल पार्टीले सरकारमाथि व्यावहारिक हुन नसकेकोका कारण खराब असर परेको आरोप लगाएको छ। छिमेकी अस्ट्रेलियामा भन्दा न्यूजील्याण्डमा धेरै आर्थिक असर परेको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *