रुसको कोरोना भ्याक्सिन लगाउने हरेक ७ मध्ये १ जना स्वयंसेवकलाई साइड इफेक्ट !

डिसी नेपाल
२ असोज २०७७ १२:५१

काठमाडौं। रुसको कोरोनाभाइरस भ्याक्सिन स्पुतनिक भी लगाउने हरेक ७ जनामध्ये १ जना स्वयंसेवकलाई साइड इफेक्ट देखिएको छ । यससँगै यो भ्याक्सिन फेरि एकपटक प्रश्नको घेरामा उभिएको छ । पछिल्लो पटक भ्याक्सिन लगाउने स्वयंसेवकहरुमा साइड इफेक्ट देखिएको रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले खुलासा गरेका हुन् ।

मुराश्कोले मंगलबार भ्याक्सिनका साइड इफेक्टबारे घोषणा गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । मंगलबार मुराश्कोले भ्याक्सिन लगाएकामध्ये १४ प्रतिशत स्वयंसेवकमा साइड इफेक्ट देखिएको बताएका छन् । स्वास्थ्य मन्त्री मुराश्कोका अनुसार हरेक ७ जनामध्ये १ जना स्वयंसेवकमा भ्याक्सिन लिएपछि कमजोरी, मांशपेशी दुख्ने जस्ता साइड इफेक्ट देखिएका छन् । यद्यपि मुराश्कोले यी साइड इफेक्टबारे पहिले नै जानकारी भएको र साइड इफेक्ट देखिएको भोलिपल्ट सबै ठिक भएको बताए ।

यो भ्याक्सिनको क्लिनिकल ट्रायलको सुरुवाती नतिजा ४ सेप्टेम्बरमा द ल्यान्सेट जर्नलमा प्रकाशित भएको थियो । ७६ जनालाई यो भ्याक्सिन २ भागमा दिइएको थियो । नतिजामा यो भ्याक्सिन पूरै सुरक्षित भएको र यो भ्याक्सिनले २१ दिनमा गम्भीर साइड इफेक्ट बिना एन्टीबडी बनाएको पाइएको थियो । यद्यपि द ल्यान्सेटमा भ्याक्सिनको साइड इफेक्टबारे पनि बताइएको थियो । जर्नलका अनुसार ५८ प्रतिशतले भ्याक्सिन लगाएको ठाउँमा दुखेको, ५० प्रतिशतले ज्वरो आएको ४२ प्रतिशतले टाउको दुखेको, २८ प्रतिशतले कमजोरी र २४ प्रतिशतले मांशपेशी दुखेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *