१३ प्रतिशत जनसंख्या भएका देशले भविष्यमा बन्ने कोरोना भ्याक्सिनको ५० प्रतिशत कब्जा गरिसके

डिसी नेपाल
२ असोज २०७७ १४:०७

काठमाडौं। कोरोनाभाइरसको महामारी बढिरहेका बेला यसको नियन्त्रणका लागि विकास हुँदै गरेको भ्याक्सिनमा धनी देशको नियन्त्रण स्थापित भइसकेको छ । अहिलेसम्म कुनै पनि भ्याक्सिन पूर्ण रुपमा सफल भइसकेको छैन । भ्याक्सिन बन्न बाँकी नै छ । तर, भजिष्यमा बन्ने भ्याक्सिनको आधा हिस्सा धनी देशहरुले कब्जा गरिसकेका छन् । अन्तर्राष्ट्रिय संस्था अक्सफामको अध्ययनका अनुसार विश्वको कूल जनसंख्याको केवल १३ प्रतिशत ओगटेका धनी देशहरुले भविष्यमा बन्ने कोरोना भ्याक्सिनको आधा हिस्सा पहिल्यै किनेर आफ्नो स्टकमा राखिसकेका छन् ।

धनी देशहरुले भ्याक्सिन विकासमा काम गरिरहेका कम्पनीहरुसँग मिलेर कैयौं सम्झौता र व्यापारिक सौदाबाजी गरिसकेका छन् । एनालिटिक्स कम्पनी एयरफिनिटीले जम्मा गरेको तथ्यांकअनुसार ट्रायलको अन्तिम चरणमा रहेका ५ भ्याक्सिनको लागि धनी देशहरुले करार गरिसकेका छन् । तथ्यांकअनुसार सीमित धनी देश, जसको जनसंख्या विश्वको पूरा जनसंख्याको केवल १३ प्रतिशत छ, उनीहरुले भविष्यमा बन्ने भ्याक्सिनको ५० प्रतिशत किनिसकेका छन् ।

अक्सफाम अमेरिकाका रोबर्ट सिल्भरम्यानले भने ‘जीवन बचाउने भ्याक्सिनको पहुँच यो कुरामा निर्भर हुन्छ कि तपाइँ कहाँ बस्नुहुन्छ र तपाइँसँग कति पैसा छ । एक सुरक्षित र प्रभावकारी भ्याक्सिनको विकास अत्यन्तै जरुरी छ । त्योभन्दा धेरै जरुरी यो कुरा छ कि त्यो शतप्रतिशत मानिसहरुसम्म पुग्न सकोस् । यो भ्याक्सिन सबैको लागि उपलब्ध होस् । सस्तो होस् र सजिलै पाउन सकियोस् ।’ अक्सफामले जुन भ्याक्सिनको अध्ययन र विश्ल्ेषण गरेको छ त्यसमा ती सबै भ्याक्सिन छन् जसमाथि विश्वले आशा गरिरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन, रुसको गेमालेया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक भी, अमेरिकाको मोडर्नाको भ्याक्सिन, अमेरिकाकै फाइजर कम्पनीको भ्याक्सिन तथा चीनको सिनोभ्याक कम्पनीका भ्याक्सिनको अध्ययन र विश्लेषण गरिएको छ । यी ५ कम्पनीको कूल भ्याक्सिन उत्पादन क्षमता ५ अर्ब ९० करोड डोज अनुमान गरिएको छ । यो विश्वका करिब ३ अर्ब मानिसहरुको लागि पर्याप्त भ्याक्सिन हो । यी पाँचवटै कम्पनीसँग कैयौं धनी देशहरुले सम्झौता गरिसकेका छन् । धनी देशहरुले यसको ५० प्रतिशत किनिसकेका छन् ।

धनी देशहरुले भविष्यमा बन्ने भ्याक्सिनको २ अर्ब ७० करोड डोज किनिसकेका छन् । यी धनी देशको विश्वको केवल १३ प्रतिशत मानिसहरु बस्छन् । यसले विश्वका अन्य मानिसहरुलाई भ्याक्सिनको पहुँचबाट बञ्चित गर्नेछ । अमेरिका, बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, हङकङ, मकाउ, जापान, स्विजरल्याण्ड र इजरायलले यसरी पहिल्यै भ्याक्सिन किनिसकेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *