चीनले हुम्लामा नेपाली भूमिमा बनायो ९ वटा भवन, जिल्लाले गृहमा पठायो प्रतिवेदन

खेमराज थापा
३ असोज २०७७ १७:५८

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनले कर्णाली प्रदेशको हुम्ला जिल्लामा पर्ने नेपाली भूमिमा भवन बनाएको खुलासा भएको छ। हुम्लाको लाप्चा लिमी क्षेत्रमा चीनले ९ वटा भवन बनाएको भेटिएको हो। यही भदौ १४ देखि १९ गतेसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालले सो क्षेत्रको अनुमगन गर्दा चीनले भवन बनाएको फेला परेको हो।

जिल्ला प्रशसान स्रोतले डिसी नेपालसँग भन्यो, ‘सहायक प्रमुख जिल्ला अधिकारी, र नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामासहितको टोली अनुगमनमा जाँदा चीनले भवन बनाएको फेला परेको हो।’

स्रोतका अनुसार स्थानीयले चीनले त्यहाँ अनाधिकृतरुपमा भवन बनाएको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिएपछि सहायक प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनका लागि पुगेको थियो। जिल्ला सदरमुकामबाट निकै टाढा रहेको सो क्षेत्रमा राज्यको उपस्थिति भने छैन।

चीनले भवन बनाएको फेला परेपछि जिल्ला प्रशासन कार्यालय हुम्लालले सो विषयमा गृह मन्त्रालयमा प्रतिवेदन दिइसकेको स्रोतले बतायो। स्रोका अनुसार सो प्रतिवेदन परराष्ट्र मन्त्रालयसम्म पुगिसकेको छ। अनुगमन टोलीमा गएका एकजनाले नाम नबताउने शर्तमा डिसी नेपालसँग भने, ‘हामीले टाढैबाट चीनले बनाएका भवन दख्यौं। पहिला पनि त्यहाँ चीनले भवन बनाएको कुरा आएको थियो। त्यतिबेला एउटा भवनको कुरा थियो। अहिले थप आठ वटा भवन बनेका रहेछन्। स्थानीयका अनुसार चिनियाँ पक्षले स्थानीयहरुलाई त्यहाँ जानसमेत दिएका छैनन्।’

उनले आफूहरु त्यहाँ जाना चिनियाँ प्रहरी देखेको बताए। तर, उनीहरुसँग कुनै कुरा नभएको र जिल्लाको टोली आएको थाहा पाएपछि प्रहरी फर्केको बताए। र त्यसपछि त्यहाँ चिनियाँ सेनाको टोली आएको उनले बताए। उनका अनुसार चिनियाँ पक्षले क्वारेन्टिनका लागि भवन बनाएको बताउने गरेको छ। तर, नेपाली भूमिमा भवन बनाउन कुनै सहमति लिइएको छैन।

सहायक प्रमुख जिल्ला अधिकारीको टोलीको अनुगमनपछि शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी र जिल्लाका चार वटै सुरक्षा प्रमुखहरुको टोली लाप्चातर्फ गएको छ। सो टोली एकहप्तापछि हुम्ला सदरमुकाम फर्किने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *