नयाँ बसपार्क : लामो दूरीका सवारी खुलेपछि बढ्न थाल्यो चहलपहल

धनकुमार कार्की
४ असोज २०७७ १५:३३

काठमाडौँ। असोज १ देखि लामो दूरीका सवारी सञ्चालनमा आएसँगै उपत्यका बाीहरिने नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको छ। असोज १ देखि सरकारले लामा दूरीका सवारी पनि चलाउने निर्णय गरेको थियो।

सुरुको दिन यात्रुको संख्या अति न्युन रहेपनि पछिल्ला दिनहरुमा बसपार्क र टिकट काउन्टरमा मानिसहरुको चहलपहल बढेको छ। लामा दूरीका गाडी चलेको पहिलो दिन बसपार्कबाट १५यात्रु बस बाहिरिएका थिए। २ र ३ गत्ते क्रमशः ५३ र ६० ओटा बस बाहिरिएका थिए।

सुरुको दिनको तुलनामा यात्रुको संख्या बढ्दै गएको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले डिसी नेपाललाई जानकारी दिए। ४ गते अर्थात आज १ सयभन्दा बढी बस बाहिरिने पनि उनले बताए।

लामो दूरीका सवारी सञ्चालनमा आएपछि जुन रूपले यात्रुहरु बढ्लान भन्ने थियो, त्यो अनुसार त आएनन्।’, उनले भने, ‘अब बिस्तारै बढ्ने क्रममा छ, जति सवारी बसपार्कबाट बाहिरिएका छन् तीनमा कुल सिटको आधामा मात्र यात्रु राखिएको छ। अहिले विदेशबाट आउनेहरूले गर्दा पनि अलि संख्या चाँही संख्या बढेको छ, उहाँहरु सिधै बसपार्कमा आएर टिकट काटेर जाने गर्नुहुन्छ।’

उनले अगाडि भने, ‘सामान्य रूपमा आवतजावत गर्ने यात्रुहरु पनि बिस्तारै बढ्दै हुनुहुन्छ। हाल विदेशबाट आएर गाडी चढेर घर जाने यात्रुहरुको संख्या बढी रहेको छ। दशैं नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्ने अनुमान पनि कुँवरले लगाएका छन्। दसैंका लागि टिकट बुकिङ खुला गर्नेबारे अहिलेसम्म छलफल भएको छैन। दसैं आउन अझै समय छ, तर त्यति बेलाको अवस्था के हुन्छ, यसै भन्न सकिन्न।’

दशैं नजिकिँदै गर्दा भिडभाड र असुरक्षा बढ्न सक्ने स्थिति देखिएको भन्दै उपत्यकामा रहेकाहरुलाई पनि त्यसमा ध्यान दिन आग्रह गरेका छन। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार साँझ ६ बजेसम्म ४ सय ६८ यात्रु बस काठमाडौं भित्रिएका छन्।

उपत्यकाबाट बाहिरिने गाडीको संख्या भने ३ सय २९ छ। उपत्यका बाहिरिने बसको संख्या दैनिक बढ्दो क्रममा रहेको महाशाखाका एक प्रहरी अधिकृतले डिसी नेपाललाई बताए। उपत्यका प्रवेश गर्ने नाकानाकामा निगरानी बढाइएको छ,’ उनले भने, ‘सिटमा कति यात्रु राखिएको छ, स्वास्थ्य मापदण्ड पालना गरिएको छ–छैन सबै हेरिन्छ।’

उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ। यहाँ पनि गाडी चढ्ने यात्रुको संख्या कम छ। एक घण्टासम्मको दूरीमा प्रायः सर्वसाधारण पैदल हिँड्ने गरेको पाइएको छ। देशभर करिब साढे ३ लाख गाडी सञ्चालनमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *