आइपिएलः के खेल दिल्लीले नभइ पंजाबले जितेको थियो ? पंजाबलाई ‘विजेता’ किन भनिँदैछ ?

डिसी नेपाल
५ असोज २०७७ ९:०५

काठमाडौं। यो सिजनको आइपिएलको दोस्रो खेल निकै रोमाञ्चक रह्यो । यो खेलको नतिजा सुपर ओभरमा आयो । सुपर ओभरमा दिल्ली क्यापिटल्सले किंग्स ११ पंजाबलाई पराजित गर्यो । अस्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिस बल र ब्याट दुवैतर्फ राम्रो प्रदर्शन गर्दै दिल्लीको जीतका हिरो बने ।

तर, यो खेलमा एउटा विवाद पनि भएको छ जसका कारण फ्यानहरुले पंजाबलाई ‘विजेता’ भनिरहेका छन् । खासमा यो विवाद पंजाबको इनिङको १९ औं ओभरमा भएको हो । यही विवादका कारण फ्यानहरुले यो खेल सुपर ओभरमै नजाने र नियमित इनिङमै पंजाबले खेल जितिसकेको बताएका छन् ।

१९ औं ओभरमा कागिसो रबाडाले बलिङ गरिरहेका थिए । तेस्रो बलमा मयंक अग्रवालले दौडिएर २ रन लिए तर अम्पायरले एक रनमात्र दिए । अम्पायरले पहिलो रनलाई ‘शर्ट रन’ ठहर गरे । शर्ट रन भन्नाले ब्याट्सम्यानले दौडिएर अर्कोतर्फको क्रिजभित्र नपुगी फर्किएको रन हो । तर, पछि टिभी रिप्लेमा त्यो रन शर्ट रन नभएको देखियो । यदि अम्पायरले यो रनलाई शर्ट रन ठहर नगरेको भए पंजाबको स्कोरमा १ रन थपिन्थ्यो र पंजाबले पहिल्यै नियमित इनिङमै खेल जित्थ्यो ।

यस विषयमा पूर्व क्रिकेटरहरुले पनि प्रश्न उठाएका छन् । पूर्वक्रिकेटर वीरेन्द्र सहवागले ट्वीट गर्दै लेखेका छन् ‘म्यान अफ द म्याचमा म सहमत छैन । जुन अम्पायरले यो शर्ट रन दिए उनलाई म्यान अफ द म्याच बनाइनुपर्थ्यो । शर्ट रन थिएन… र यही अन्तर थियो ।’ स्मरण रहोस् सहवाग पंजाबका पूर्व कोच पनि हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *