सार्वजनिक यातायातमा निसास्सिने भिड, भाडामा मनोमानी

डिसी नेपाल
८ असोज २०७७ १०:२४

काठमाडौं। सार्वजनिक यातायात संचालनमा आएसँगै उपत्यकामा स्वास्थ्यका न्युनतम मापदण्ड पालना नगर्दा कोरोना संक्रमण फैलने जोखिम बढेको छ।

सरकारले सामाजिक दुरी कायम गरी एक सिटमा एक जना मात्रै यात्रु राख्न मिल्नेगरी सार्वजनिक यातायातको मापदण्ड तोकेपनि उपत्यकाका अधिकांश सार्वनिक यातायातमा भने सिटभरी यात्रु राखेर सञ्चालन गरीरहेका छन्। सिटभरी मात्र नभई कतिपयले त उभ्याएर समेत यात्रु राख्ने गरेको पाइएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विगतको महिनाबाट ठप्प रहेको यातायात संचालनमा आएपछि संक्रमण फैलने खतरा बढ्दै गएको छ।
‘न ढोकामा स्यानिटाईजर न चालक र सहचालकको हातमा पञ्जा नै देखिन्छन,’ बालाजुदेखी रत्नपार्क आउँदै गरेको माईको्रबसमा सवार एक यात्रुले गुनासो गरे।

कोरोना संक्रमण तिव्र रुपमा फैलनमा सार्वजनिक यातायात माध्यम हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले बारम्बार मापदण्ड पालना गर्न जोड दिँदै आएको छ। सिटभरी यात्रु राखेर पनि भाडा भने सरकारले तोकेको जतिनै लिने गरेको जनगुनासो बढ्न थालेको छ।

‘किन यत्रो मान्छे चढाएको भन्दापनि चढ्न मन लागे चढ्नु मन नलागे नचढ्नु भनेर उल्टै सहचालकले थर्काए,’ एक यात्रुले भने,‘ यात्रु खचाखच देखेर पनि बालाजुबाट रत्नपार्कसम्म आईपुग्दा ड्यूटीमा रहेका ट्राफिक प्रहरीले कुनै वास्ता गरेनन्। भाडा पनि २५ रुपैयाँ लियो, सरकारले अनुगमन गर्ने भन्छ अनुगमन खोई?’

सरकारले स्वस्थ्यको न्युनतम मापदण्ड पालना गरी भाडामा पचास प्रतिशतसम्म बढाउन पाइने भनेको छ। उता सार्वजनिक यातायातमा भने न्युनतम भाडादर २५ रुपैयाँ लिने गरेका छन्।

सरकारको मापदण्डअनुसार उपत्यकाभित्र न्युनतम भाडादर १५ रुपैयाँ हो, यसको पचास प्रतिशत बढाउँदा २१ रुपैयाँ हुने गर्छ। सरकारले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न गएको चैत्र ११ गतेबाट बन्द गरिएको लामो दुरीको यातायात असोज १ गतेबाट संचालन गरेको छ। यता लामो दुरीको यातायातमा पनि यात्रु भने फाटफुट मात्रामा देखिन्छन्।

लामो दुरीका यातायातले स्वस्थ्यका मापदण्ड पालना गरे पनि भाडामा भने बढी लिने गरेको यात्रुहरुले गुनासो गरेका छन्। गत शुक्रबार मोरङबाट काठमाडौं आएका हरि कार्कीलाई दुई हजार भाडा लिएको उनले बताए।

‘भाडामा पचास प्रतिशत बढाउँदा जम्मा १७ सय हुन्छ’, उनले भने, ‘तर मलाइ दुई हजार लियो, ट्राफिक प्रहरीलाई भन्दा पनि वास्ता गरेन।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार तोकिएभन्दा बढी यात्रु राख्ने र मनपरी भाडा असुल्ने सवारीलाई कारबाही हुने गरेको छ।

यातायात व्यवस्था ऐन र नियमावलीअनुसार १० हजार रुपैयाँसम्म चिट काट्नुपर्ने गरी गल्ती गर्नेलाई बिभागको जिम्मा लगाउन थालिएको महाशाखाका एक प्रहरीले बताए। नियमबिपरीत चलेका सवारीलाई पछिल्लो समय जाँच केन्द्रसमेत बढाएको महाशाखाको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *