भारतको ८५ प्रतिशत जनता कोरोनाबाट संक्रमित हुने अनुमान, नेपाललाई खतराको घण्टी

डिसी नेपाल
८ असोज २०७७ ११:०५

काठमाडौं। विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा कूल जनसंख्याको ८५ प्रतिशत अर्थात १ अर्बभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित हुन सक्ने चेतावनी दिइएको छ । भारतको नीति आयोगका सदस्य डा. भीके पलले कोरोनाभाइरसको स्थितिबारे प्रेस ब्रिफिङको क्रममा यो चेतावनी दिएको लाइभमिन्टको समाचारमा जनाइएको छ । डा. पलले भारतीयहरुलाई मास्क, भौतिक दूरी जस्ता नियमको कडाइका साथ पादना गर्न आग्रह गर्दै भने ‘देशमा ८० दखि ८५ प्रतिशत मानिसहरु यस्ता छन् जो सजिलै कोरोनाभाइरसको चपेटामा पर्न सक्छन् ।’

डा. पलले अगाडि भने ‘देशमा कोभिड १९ का केसहरु लगातार बढिरहेका छन् । भाइरसको पछाडको विज्ञान यस्तो छ कि यो एक व्यक्तिबाट ५ व्यक्तिमा र ५ व्यक्तिबाट ५० व्यक्तिमा फैलिन्छ ।’ उनले तीब्र गतिमा बढिरहेका केसहरुका बीच देशमा कोरोनाको स्थिति भने नियन्त्रणमा रहेको बताए । डा. पलले भने ‘कसैले पनि भाइरसलाई रोक्न सक्दैन तर हामीले निश्चित रुपमा केही नियमको पालना गरेर यसमा नियन्त्रण पाउन सक्छौं । मास्क लगाउने र भौतिक दूरी पालना गरेर यो महामारीमाथि नियन्त्रण पाउन सक्ने अनुमान छ ।’

भारतीय चिकित्सा अनुसन्धान परिषद (आइसीएमआर)का एक बरिष्ठ अधिकारीले ८० देखि ८५ प्रतिशत भारतीय अति संवेदनशील श्रेणीमा रहेको बताए । बाँकी १५ प्रतिशत या त पहिलेदेखि नै संक्रमित भइसकेका छन् वा उनहिरुमा भाइरससँग लड्न सक्ने राम्रो प्रतिरोधी क्षमता छ । केही दिन पहिले भारतीय स्वास्थ्य मन्त्री हर्ष वर्धनले हर्ड इम्युनिटी बन्न अझै केही समय लाग्ने भएकोले सरकार महामारी नियन्त्रणका लागि अस्पतालको व्यवस्थापनको रणनीति बनाउनेतर्फ केन्द्रित रहेको बताएका थिए ।

आइसीएमआरको राष्ट्रिय सेरोलोजिकल सर्वेक्षणको नतिजाका अनुसार भारतको अधिकांश जनसंख्या अति संवेदनशील वर्गमा छ । जुलाइमा दिल्लीमा गरिएको सेरो सर्वेमा लगभग २३ प्रतिशत जनसंख्यामा भाइरससँग लड्ने एन्टिबडी बनिसकेको र बाँकी ७७ प्रतिशत अति संवेदनशील वर्गमा रहेको खुलासा भएको थियो । आइसीएमआरमा महामारी विज्ञानका प्रमुख ललित कान्तले भने ‘भारतमा आउँदो समय चाडपर्वको छ । यदि पूरै जनसंख्याले नियमको कडाइका साथ पालना नगरे भविष्यमा चुनौतीपूर्ण स्थितिको सामना गर्नुपर्नेछ ।’

भारतको यो स्थितिले नेपालका लागि पनि खतराको घण्टी बजाएको छ । सरकारी रेकर्डअनुसार त नेपाल–भारत सीमा बन्द छ तर वास्तविकता त्यस्तो देखिँदैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा अहिले उपत्यका बाहिरबाट काठमाडौं आएकाहरुको स्वाब परीक्षण गराउनको लागि लाइन छ । त्यो लाइनमा ठूलो संख्यामा भारतीयहरु भेटिएका छन् । सीमा वास्तवमै बन्द भएको भए उनहिरु भारतबाट नेपाल आउन सम्भव नै हुने थिएन । तर, उनीहरु काठमाडौंमा छन् अर्थात सीमामा आवतजावत जारी छ ।

यसअघि तीन महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देखिएका कूल संक्रमितमध्ये ८५ प्रतिशत भारतबाट फर्किएकाहरु भएको बताएका थिए । त्यतिबेला भारतमा सबै कुरा बन्द गरिएका कारण ठूलो संख्यामा अलपत्र परेका नेपाली स्वदेश फर्किएका थिए । तर, भारतमा विस्तारै व्यवसाय संचालन हुन थालेपछि उनीहरुमध्ये कैयौं भारत फर्किइसकेका छन् । काम वा व्यवसायका लागि नेपालीहरु भारत र भारतीयहरु नेपाल आवतजावत गर्ने क्रम जारी छ । यस्तोमा भारतमा फैलिने संक्रमणले नेपालका लागि चुनौती बढाउने लगभग निश्चित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *