नेपाल प्रहरीका ४२ चिकित्सकको ‘सामुहिक’ राजीनामा

डिसी नेपाल
८ असोज २०७७ १५:३८

काठमाडौं। नेपाल प्रहरीको अस्पतालमा कार्यरत चिकित्सकहरुले सामूहिक राजीनामा दिएको भन्दै प्रहरी अस्पतालका प्रमुख एआइजी डा. आशा सिंहलाई लिखित पत्र बुझाएका छन्।

नेपाल प्रहरी अस्पताल काठमाडौ र काठमाडौबाहिर विभिन्न यूनिटमा रहेका ४२ जना चिकित्सकहरुले आफ्ना समस्या समाधान नभए भन्दै सामुहिक राजीनामाको लिखित पत्र बुझाएका हुन्।

प्रहरी नियमावलीले अध्ययन विदा नदिएको र थप अध्ययनका लागि नियमावली संशोधन गरी समयमै समस्या समाधान नभएको भन्दै उनीहरु राजिनामा दिनु परेको कारण उल्लेख गरेका छन्।

अस्पतालका मेडिकल डाइरेक्टरलाई सम्बोधन गर्दै बुधबार लेखेको पत्रमा उनीहरुले अध्ययन अवधिमा सरकारले आफूहरुलाई अन्याय गरेको र हेरफेर गरेको संशोधन नियमावली तत्काल पास हुनुपर्ने माग समेत गरेका छन्।

उनीहरुले विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको बताएका हुन्।

संशोधनका लागि प्रक्रिया अघि बढेको प्रस्ताव तुरुन्त पास गर्नका लागि आवश्यक पहल गरिदिन अस्पतालका मेडिकल डाइरेक्टरलाई अनुरोध गरेका छन्। सो ‘संशोधन प्रस्ताव पास नभए सेवामा रहन नसक्ने भन्दै यसै पत्रमार्फत राजीनामा दिएको’ बताएका छन्।

यसरी पत्र लेख्नेमा डा. विन्दु शर्मा, डा.ज्ञानेन्द्र चौधरी, डा.उमेशकृण्ण कुँवर, डा.अमितकुमार ठाकुर, डा.एलिना श्रेष्ठ, डा.रमन घिमिेरे, डा.सन्देश लामिछाने, डा.महादेव देउजा लगायतका ४२ जना रहेका छन्। उनीहरुले हस्तलिखित राजीनामा बुझाएका हुन्।

‘नेपाल प्रहरीका यो एक प्रकारको विद्रोह नै हो यसले सुरक्षा संगठनमा काम गर्ने चिकित्सकहरु अनुशासित छैनन् भन्ने देखाउँछ’, प्रहरी स्रोतले भन्यो। तर प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले यो विषयमा आफूलाई जानकारी नभएको बताए। उनले सुरक्षा निकायमा सामुहिक राजीनामा भन्ने चिज नै नहुने भएकाले त्यस्तो अवस्था नआएको समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *