क्रिकेटर ललित भण्डारीको उपचारमा सरकारको सहयोग हुने

रासस
८ असोज २०७७ २१:१९

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिए ।

सो अवसरमा मन्त्रीले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिए । उनको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो ।

उनि गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उनको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *