सरकारविरुद्ध यौनकर्मीले हालिदिए मुद्दा

डिसी नेपाल
१० असोज २०७७ १५:००

काठमाडौं। सरकारले कोरोनाभाइरसबाट प्रभावित साना व्यवसायलाई नगद सहयोग गर्ने योजनामा यौन उद्योगलाई बाहेक गरेको भन्दै जापानका यौन व्यवसायीले सरकारविरुद्ध मुद्दा हालेका छन् । ग्रहककहाँ यौनकर्मी पठाउने व्यवसाय संचालन गर्ने एक महिलाले बुधबार सरकारको निर्णय संविधानले प्रतिबन्ध गरेको भेदभाव भएको आरोप लगाएकी छिन् । जापान टाइम्सका अनुसार टोक्यो जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा ती महिलाले सरकारले दिने सहयोग रकमका साथसाथै उचित आधार बिना भेदभाव गरिएकोमा क्षतिपूर्ति समेत माग गरेकी छिन् ।

उनले अदालतमा दर्ता गरेको मुद्दामा सरकारले दिने सहयोग रकम वितरण गर्ने जिम्मेवारी पाएका २ कम्पनीहरुलाई पनि विपक्षी बनाएकी छिन् । जापान सरकारले साना व्यवसायलाई आर्थिक सहयोग गर्नको लागि ल्याएको यो प्याकेजमा २ मिलियन जापानी येनसम्म आर्थिक सहयोग दिन सकिने व्यवस्था छ । साथमा यो योजनाले साना व्यवसायलाई भाडा तिरिदिने पनि व्यवस्था गरेको छ । यद्यपि यो कार्यक्रममा यौन उद्योगका व्यवसायहरु यौनकर्मी आपूर्ति गर्ने, ‘लभ होटल’ संचालकहरु र यौनजन्य गतिविधिका लागि स्थान उपलब्ध गराउनेहरु समेटिएका छैनन् ।

ती महिलाका कानुन व्यवसायीका अनुसार उनले स्थानीय अधिकारीको अनुरोधमा मध्य अप्रिलदेखि मे महिनाको अन्त्यसम्ममा आफ्नो व्यवसाय पूर्ण रुपमा बन्द गरेकी थिइन् । भाइरस प्रसार नियन्त्रण गर्नको लागि उनको व्यवसाय बन्द गरिएपछि उनको व्यवसायमा अप्रिल महिनामा ८० प्रतिशत र मे महिनाका ७० प्रतिशतले गिरावट आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *