भारतबाट करोडौं चोरेर भागेका नेपाली फेसबुक चलाउन नजान्दा समातिए

काठमाडौं। नयाँ दिल्लीमा एक ७८ वर्षीय व्यवसायी र उनको पूरै परिवारलाई औषधि खुवाइ बेहोस पारेर घरका मूल्यवान सामानहरु चोरेर फरार भएका एक नेपाली ९ महिनापछि पक्राउ परेका छन् । दिल्ली पुलिसका अनुसार उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् । पुलिसले उनको फेसबुकलाई निरन्तर निगरानीमा राखेको थियो । उनका एक साथीले एक पोस्टमा उनलाई ट्याग गरेपछि उनी कहाँ छन् भन्ने खुलासा भयो र पुलिसले उनलाई पक्राउ गर्यो ।

ती नेपालीले दिल्लीका व्यवसायीको लाइसेन्स प्राप्त रिभल्भर समेत चोरेर फरार भएको दिल्ली पुलिसलाई उद्धृत गर्दै समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । पुलिसले शनिबार उनलाई पक्राउ गरेपछि घटनाबारे खुलासा गरेको हो । पक्राउ परेका नेपालीको नाम धीरेन्द्र शाही रहेको पुलिसले जनाएको छ । उनी गएको डिसेम्बरमा व्यवसायीको घर लुटेर फरार भएका थिए । उनी त्यहाँ कुकको रुपमा कार्यरत थिए ।

अहिले उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् । उनका एक साथीले आफ्नो फेसबुक पोस्टमा उनलाई ट्याग गरेपछि पुलिसले उनीबारे सुराग पाएको थियो । पुलिसका अनुसार उनले यही वर्ष दिल्लीको सब्जी मण्डीमा पनि अर्का व्यवसायीको घरमा पुरानै तरिका अपनाएर डेढ करोड चोरी गरेका थिए ।

डिसीपी साउथ अतुल कुमार ठाकुरका अनुसार घर र कम्प्लेक्समा जडान गरिएका सीसीटिभी फुटेज जाँच गर्दा शाहीले अन्य तीन सहयोगीसँग मिलेर चोरी गररेको पाइएको थियो । ‘घटनापछि आरोपीहरु नेपाल फरार भएका थिए तर प्राविधिक रुपमा निगरानी गरिराख्दा उनलाई उनका एक साथीले फेसबुकमा एउटा फोटोमा ट्याग गरेको पाइयो’ डिसीपी ठाकुरले भने ।

पुलिसका अनुसार फेसबुक पोस्टमा उनी ट्याग भएपछि पुलिसले उनको लोकेसन ट्रेस गर्दा उनी पंजाबमा भएको खुलासा भएको थियो । उनको लोकेसन पत्ता लागेपछि पुलिसको एक टिम उनलाई खोज्दै गएको थियो । उनी मोहालीमा एक गेष्ट हाउसमा केयरटेकरको रुपमा कार्यरत थिए । पुलिसले उनलाई पक्राउ गरेको छ ।

अनुसन्धानमा ती अभियुक्तले अन्य ३–४ जना साथीहरुसँग मिलेर चोरी गर्ने गरेको खुलेको छ । उनीहरुले दिल्लीमा व्यवसायीहरुलाई लक्ष्य बनाउँथे । पुलिसका अनुसार यो ग्याङले हरेक लक्ष्यलाई लुटनको लागि औषधि खुवाएर बेहोस बनाउने एउटै तरिका अपनाउँथे । चोरीपछि यो ग्याङ नेपाल भागेको र लकडाउनअघि भारत फर्केर पंजाबमा काम गर्न थालेका थिए । पुलिसले उनका अन्य साथी अभियुक्तहरुको खोजी भइरहेको जनाएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो