अमेरिकी शहरको पानीमा मस्तिष्क खाने सूक्ष्मजीव भेटियो

डिसी नेपाल
११ असोज २०७७ १९:५०

बीबीसी । अमेरिकी राज्य टेक्ससको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ। उक्त सहरको सार्वजनिक पानी आपूर्ति प्रणालीमा घातक खालको गिदी खाने सूक्ष्मजीव पाइएपछि त्यस्तो चेतावनी दिइएको हो।

पानीमा नेग्लेरिया फाउलेरी नामको सुक्ष्म जीवको उपस्थिति रहेको परीक्षणहरूले पुष्टि गरेको छ। त्यस्तो सूक्ष्म जीवाणु अमीबाले दिमागमा सङ्क्रमण गर्नसक्छ र त्यो घातक हुन्छ। सङ्क्रमण अमेरिकामा दुर्लभ रहँदै आएको छ। सन् २००९ देखि २०१८ सम्म जम्मा ३४ वटा सङ्क्रमण देखिएको विवरणहरू छन्।

लेक ज्याक्सनका अधिकारीहरूले आफूहरूले पानीको आपूर्तिलाई निसङ्क्रमित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ थाहा नभएको बताएका छन्। टेक्ससका आठवटा समुदायहरूलाई शुक्रवार राति नै धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक नगर्न भनिएको थियो।

जोखिममा को?

त्यस्तो चेतावनी शनिवार बिहान लेक ज्याकसनबाहेक अरू सबै ठाउँमा हटाइयो। लेक ज्याक्सनमा २७ हजार भन्दा बढी मानिसहरू बस्छन्।

त्यहाँका अधिकारीहरूले पछि मानिसहरूलाई पानी प्रयोग गर्न सकिने तर खानुअगाडि राम्ररी उमाल्नुपर्ने बताएका थिए। त्यहाँका बासिन्दालाई नुहाउँदा पानी नाकभित्र नपसोस् भनेर पनि सतर्क हुन भनिएको थियो।

खासगरी बालबालिका, बृद्धबृद्धा र रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरू “जोखिममा रहेको” भन्दै सचेत गराइएको थियो। अधिकारीहरूले आफूले पानी आपूर्ति हुने प्रणालीलाई सफा गरेको र त्यसपछि परीक्षण गरेर मात्रै पानी प्रयोग गर्न सुरक्षित छ भन्ने प्रत्याभूत गर्न चाहेको बताएका छन्।

अनुसन्धान कसरी थालियो?

एकजना ६ वर्षीय बालकमा सूक्ष्म जीवको सङ्क्रमणका कारण यो महिनाको सुरुमा मृत्यु भएपछि उक्त सहरमा पानी आपूर्तिको अनुसन्धान थालिएको सहरका व्यवस्थापक मोडेस्टो मुन्डोले संवाददाताहरूलाई बताए।

नेग्लेरिया फाउलेरी प्राकृतिक रुपमा ताजा पानीमा मात्रै देखापर्छ र यो विश्वभरी नै भेटिन्छ। दूषित पानी नाकबाट शरीरमा र त्यसपछि दिमागमा पुगेपछि यसले मानिसलाई सङ्क्रमण गर्छ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले मानिसहरू पौडिन वा ताजा पानीहरू पाइने ठाउँ(पोखरी–ताल)हरूमा हाम फाल्दा यो सङ्क्रमण देखिने जनाएको छ।

सतर्क रहन आह्वान

दूषित पानी निल्दा मानिसहरूमा सङ्क्रमण नहुने र मानिसबाट मानिसमा नसर्ने पनि सीडीसीले जनाएको छ। नेग्लेरिया फाउलेरीबाट सङ्क्रमित हुनेहरूमा ज्वरो आउने, वाकवाकी लाग्ने, टाउको र गर्दन दुख्ने जस्ता लक्षणहरू देखापर्छन्।

यो सङ्क्रमण भएकाहरूको धेरैजसो एकसाताभित्रै मृत्यु हुन्छ। यो सङ्क्रमण सुरुमा अमेरिकाको फ्लोरिडा राज्यमा यो वर्षको सुरुमा देखा परेको थियो।

त्यतिबेला स्वास्थ्य अधिकारीहरूले धारा र अन्य स्रोतबाट आउने पानी प्रयोग गर्दा नाकबाट नछिरोस् भनेर सतर्क हुन मानिसहरूलाई आह्वान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *