बागलुङमा विपद्ः ७७ घरमा क्षति, २१५ उच्च जोखिममा

डिसी नेपाल
११ असोज २०७७ २३:४५

गल्कोट। निरन्तरको वर्षाका कारण बागलुङ जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन् । बागलुङ नगरपलिकामा ६५ घर पहिराले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा छन् । निरन्तरको वर्षात्का कारण नगरपलिकाभित्र बाढी पहिरो तथा जमीन भासिने कारणले ६५ घर विस्थापन भएको र १५० घर उच्च जोखिममा रहेको तथ्याङ्क सङ्कलन गरिएको छ ।
पूर्ण रुपमा विस्थापित हुने गरी क्षति भएका ६५ घरलाई नगरपालिकाका तर्फबाट रु एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरिको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए। घर बनाउन सघाउ पुग्ने गरी ६५ घरलाई रु एक लाख ५० हजारका दरले नगद उपलब्ध गराउने गरी विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो ।

पौडेलका अनुसार जोखिममा रहेको घरका लागि तत्कालै रु १५ हजार दिइरहेको छ । यस्तै जैमिनी नगरपालिकामा १२ घरमा पूर्ण क्षति भएको तथा ५६ घर पहिराको उच्च जोखिममा परेको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए। उनले पछिल्लो वर्षात्मा क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै क्षति तथा जोखिम घरको सङ्ख्या बढ्ने बताए। उनका अनुसार घरबाट विस्थापन भएका परिवारलाई राहत दिइँदै आएको छ । जैमिनीमा निरन्तरको पहिराका कारण टुनिबोट दुई र बिनामारेमा एक गरी तीन जनाको ज्यानसमेत गएको छ । नगरपालिकाले ज्यान गुमाएका परिवारलाई तत्कालै किरिया खर्चसमेत प्रदान गरेको छ ।

यस्तै जिल्लाको काठेखोलामा बिहीबार पहिराका कारण एक जनाको ज्यान गएको छ । यसैगरी काठेखोला गाउँपालिका–१ चनौटेको तल्लोथरमा पहिरो खस्दा एक दर्जनभन्दा बढी घर जोखिममा रहेको स्थानीयवासी कृष्ण थापाले जानकारी दिए। गाउँपालिकाको भीमापोखराको दपासामा, रेशको भुदीखोला र लेखानी जाने सडकसमेत क्षति पुगेको छ । अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको र तथ्याङ्क सङ्कलनको काम जारी रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए।

यस्तै गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बुर्तिबाङ सडकखण्डको सवारी साधन आवागमनमा समस्या भएको छ । चौराहा, रुपाखानी, पात्लेखोला जाने गोरेटो बाटोमा पहिरो खसेको छ । लोकमार्गको पहिराका कारण दुई घर पहिराको उच्च जोखिममा छन् । निरन्तर परेको वर्षात्का कारण नगरपालिकाको १ नं वडामा स्थानीयवासी भीमबहादुर थापा काउचा र विष्णु राना श्रीसको घर उच्च जोखिममा परेको स्थानीयवासी हीराबहादुर काउँचाले जानकारी दिए। पहिराले घर गोठ जोखिममा परेपछि पशुपक्षी, अन्नपात र लत्ताकपडा छिमेकीका घरमा सारिएको उनले बताए।

यस्तै सोही नगरपालिका वडा नम्बर ११ रिघामा पहिराले पाँच घर जोखिममा परेका छन् । वर्षात्ले स्थानीयवासी चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्रबहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का वडाध्यक्ष डम्बर श्रीसले जानकारी दिए। उनीहरुले छिमेकीका घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

यस्तै बडिगाड गाउँपालिकाको खर्वाङ बजारस्थित मध्यपहाडी लोकमार्गमा खसेको पहिराले तीन घर जोखिममा परेका छन् । सोमबार बडिगाड –२ राक्सेमा आएको बाढीका कारण चार परिवार विस्थापित भएका छन् । गाउँपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँठाउँमा पहिराले क्षतविक्षत बनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *