चाडबाडको रौनकमाथि त्रास हावी, महामारीको प्रकोप बढ्दै जाँदा बजार सुनसान

धनकुमार कार्की
१५ असोज २०७७ १०:३०

काठमाडौं। ‘होलसेल होलसेल आउनुस् छानीछानी, पाँच सयमा दुई जोर’ यी आवाजहरु राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड सुरुभएसँगै गुञ्जयमान हुन्छ। बाटोभरी भीड हेर्दा दशैँ लागेको भान हुन्छ। तर मानिसहरुमा कुनै उत्साह छैन, चाडबाड नजिकिँदै गर्दा कोरोना महामारीले झनै उग्र रुपै लिँदै छ। बजारमा चाडबाडको कुनै रौनक छैन।

‘व्यापारै छैन, सबै डामाडोल छ, आज बिहानदेखी मैले चाहिँ भर्खर बोनी गरेँ। यहाँ कसैले अरुले बोनी गरेको छैनन्। चिनजानको आफन्त आयोभने बोनी हुन्छ नत्र बोनी गर्न पनि गाह्रो हुन्छ,’ इन्द्रचोकको गल्लीमा फेन्सी पसल गरेर बसेका अनुप कुमार रौनियार भन्दै थिए, ‘ब्यापार गरेको ३५ वर्ष भयो गत सालहरुमा यतिबेला दैनिक ३०/ ३५ हजार ब्यापार हुन्थ्यो। ‘दशैँको लागि नयाँ सामान पनि झार्न सकेके छैन। सामान आएर पनि लिने मान्छे पनि छैन। चीनबाट ल्याउने हो सामान केरुङबाट आउन सकेन फेरि फर्कायो भन्ने हल्ला छ।’

‘यो सामान लकडाउन हुनुभन्दा तीन महिना अगाडिको हो,’ उनले भने, ‘लकडाउन भयो ब्यापार भएन। गर्मीको लुगा थियो, अब जाडो सिजन सुरु हुन लाग्यो, यस्ता कपडा दशैंमा बिक्री हुँदैनन्। चाडपर्वको लागि कुनै भीडभाड चहलपहल ब्यापार केही छैन, भाडा लकडाउन सुरु भएदेखि तिरेको छैन। सात महिना भयो, यहाँ कसैले पनि बोनी समेत गरेको छैन। बत्तिको बिल तिर्न समेत गाह्रो छ।’

एकैछिनमा दुई जना गा्रहक आए। करिब ५ मिनेटसम्म मोलमोलाइ गरेर ग्राहक रित्तै फर्किए।

‘इन्द्रजात्राकै समयदेखि ब्यापार बढ्ने गथ्र्यो, अहिले दैनिक २ हजार पनि ब्यापार छैन। बेचेको पैसा खर्च उठाउन पनि पुग्दैन। ब्यापार देखिहाल्नुभयो नि,’ उनले भने, ‘अब यस्तै चल्यो भने त पसलै छाड्नुपर्ने हुन्छ।’ रौनियारको घर ताहाचलमा छ।

अब के गर्ने? भन्ने प्रश्नमा रौनियार एकछिन नाजवाफ भएर भन्न थाले ‘के गर्ने केही सोचेको छैन। स्थिति नाजुक छ। भगवानको कृपाले अव यो अवस्था चाँडै अन्त्य होस भन्ने कामना मात्र गर्ने हो।’  सरकारले व्यापारीको समस्या समाधान गर्न ध्यान नदिएको उनको गुनासो छ।

रौनियारको जस्तो पीडा असन, इन्द्रचोक, न्युरोड , महाबौद्धका ब्यापारीहरु सबैसँग रहेको छ। दशैँ आयो भनेपछि २ महिनादेखि उत्साह हुन्थ्यो। न्युरोड गेटबाट जुद्धशालिकतिर अगाडि बढेनेबित्तिकै छुट्टै रौनक हुन्थ्यो। पसलहरुमा रङ्गीबिरङ्गी खेलौनाहरु, नयाँ नयाँ समानहरु, अनेकथरी सामानहरु फिँजाइएका हुन्थे। सेल लागेको हुन्थ्यो।

दशैं आउन तिन हप्ता मात्रै बाँकी छ। बुधबार दिउँसो न्युरोड पुग्दा मान्छेको चहलपहल सामान्य थियो। ब्यापारीहरुको भने सबैको अनुहार मलिन। फाटफुट मात्रामा सेल लागेको, बाटेमा चहलपहल छ, पसलमा छैन। सेलमा पनि पुरानै सामान।

‘नयाँ सामान आएको छैन ल्याउने अवस्था पनि छैन। अहिले त बोनी हुन पनि ठूलो कुरा हुन थालिसक्यो,’ गोरखा घर भएकी मखनमा पसल गर्दै आएकी सुस्मा दुवाडीले भनिन्,’ ‘भाडा त अव आफ्नै गोजीको हालेर भए पनि तिर्नुपर्यो नि।’

‘लकडाउन भरीको भाडा तिरेको छैन। गर्मीको सामान चीनमै अड्केको छ। ब्यापार गर्न थालेको ७ वर्ष भयो कहिल्यै यस्तो मन्दी त भएको थिएन,’ उनले भनिन्।

लकडाउन सुरु भएकँगै ब्यापारमा आएको मन्दीले सुस्मा जस्ता थुपै्र व्यापारीहरु मारमा परेका छन्। लकडाउन सुरु हुनु भन्दा अगाडि गमीर्को सामान झरेको थियो। नजिकिँदै गरेको चाडबाडलाई सामान ल्याउन सकिएन,व्यापारीको गुनासो थियो, ‘पुरानो सामान यतिबेला गएन, खर्च उठाउन सकिएन, भाडा तिर्न सकिएन।’

मखनमा रहेको सुरज आर्केडका ब्यापारीहरुका पनि उस्तै समस्या छ। नयाँ सामान आउन नसकेकाले पुरानै सामान घाटा खाएर सेल लगाएको सुरज आर्किडमा जुत्ताचप्पलको पसल सञ्चालन गर्दै आएका बिनोद रौनियाले बताए।

‘ग्राहक नै नआएपछि सेल लाउनुको पनि अर्थ नै भएन नि,’ उनले भने, ‘ भाडा तिर्नलाई घाटा खाएर भएपनि बेच्नुपर्ने अवस्था छ।’  ब्यापारीहरुसँगको छलपलपछि २ महिनाको भाडा छुट गर्ने सहमति भएकोे सुरज आर्केडका ब्यापार संघका महासचिव सुरेश श्रेष्ठले बताए।

‘२ महिनाको भए पनि केही हल्का भएको छ। अझै पनि हामीलाई ठूलो समस्या छ,’ उनले भने, ‘प्रशासनले फुटपात पसलेहरुलाई छुट्टै ब्यवस्था गरिदिए हामीलाई केही सहज हुने थियो।’

तस्वीर : कमल साउद/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *