यूएईले आफ्नो पूरै जनसंख्याभन्दा धेरै कोरोनाभाइरस टेस्ट गरेर विश्वरेकर्ड बनायो

डिसी नेपाल
२२ असोज २०७७ १५:३५

काठमाडौं। यूएईले कोरोनाभाइरस टेस्ट गर्ने क्रममा विश्वरेकर्ड बनाएको छ । यूएई आफ्नो जनसंख्याभन्दा धेरै कोरोनाभाइरस टेस्ट गर्ने पहिलो देश बनेको छ । यूएईले कोरोनाभाइरस सुरु भर्एदेखि अहिलेसम्म १ करोड ४ लाखभन्दा धेरै टेस्ट गरिसकेको छ । यो देशको कूल जनसंख्या भने ९६ लाख मात्र छ । कूल जनसंख्याको तुलनामा टेस्टको प्रतिशत अधिक हुने देशमा युएई पहिलो भए पनि सबैभन्दा धेरै टेस्ट गर्ने देश भने यूएई होइन ।

अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस टेस्ट गर्ने देश चीन हो । चीनले अहिलेसम्म १६ करोडभन्दा बढी टेस्ट गरिसकेको छ । अमेरिकाले ७ अक्टोबरसम्म ११ करोड टेस्ट गरेर दोस्रो स्थानमा छ । तेस्रो स्थानको भारतले ८ करोड टेस्ट गरेको छ । रुसले ५ करोड परीक्षण गरेको छ र चौथो स्थानमा छ ।

यूएई सरकारका प्रवक्ता डा. उमर अल हम्मादीले खलीज टाइम्सलाई बताएअनुसार देशले ३० सेप्टेम्बरदेखि ६ अक्टोबरको बीचमा ७ लाख २० हजार ८०२ टेस्ट गरेको छ । यो अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बढी हो । यो अवधिमा कोरोनाका कूल केसमा पनि १६ प्रतिशत वृद्धि भएको छ । निको हुने दरमा पनि २३ प्रतिशतसम्म वृद्धि भएको छ ।

यूएईमा संक्रमणका कूल केस १ लाखभन्दा धेरै भएका छन् । डा. उमरका अनुसार यो हप्ता कोरोनाभाइरसका कारण ७३ प्रतिशत बढी मृत्यु भएका छन् । यति हुँदाहुँदै पनि यूएईमा सेप्टेम्बरमा कोरोनाभाइरसबाट हुने मृत्यु दर विश्वमै सबैभन्दा कम छ । युएईमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४३६ जनाको मृत्यु भएको छ ।

यूएईका अधिकारीहरुले भ्याक्सिन लिएका स्वयंसेवकहरु संक्रमणबाट सुरक्षित नभएको बताएका छन् । भ्याक्सिन अहिले पनि ट्रायल अवधिमै रहेकोले स्वयंसेवकहरुको पूर्ण निगरानी गरिने र सबै फ्याक्टरहरुको जाँच गरिने अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले चिसो मौसममा संक्रमणको खतरा अधिक भएकोले नागरिकलाई फ्लुको भ्याक्सिन लगाउन आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *