चाडबाड नजिकीएसँगै बजार अनुगमनमा तीव्रता

रासस
२२ असोज २०७७ १७:५०

डोटी । दशैँ तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर, सिलगढी, गोपघाट, बीपीनगर तथा बुडरका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहल पहल बढ्न थालेको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएका छन् । यसै सिलसिलामा दशैँ तिहारका लागि बजारमा स्थानीयवासीको सरसामान किन्नेको भीड लाग्न थालेपछि जिल्लाको सबैभन्दा पुरानो स्थानीय तह दिपायल सिलगढी नगरपालिकाका विभिन्न बजारमा पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारिएको छ । अनुगमनलाई निकै प्राथमिकतामा राखेर प्रायः दैनिक रुपमा बजार अनुगमन गरिन् थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीले जनाएको छ ।

यहाँका प्रमुख व्यापारी केन्द्रमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी तथा दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भएको नभएको बारे अनुगमन गरिन् थालिएको हो । अनुगमन समितिले जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को सिलगढी, पिपल्ला, दिपायल र राजपुर बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा अनुगमन गर्न थालेको दिपायल सिलगढी नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक शिवराज खड्काले जानकारी दिए।

नागरिकको मागअनुसार जिल्लामा चाडबाडको समयमा कालोबजारी र मूल्य वृद्धि नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको र अनुगमन कार्यलाई निरन्तरता दिइने नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक खड्काले बताए । जिल्लाका प्रमुख बजारमा प्रायः चाडबाडको समयमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको पटकपटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको दिपायल पिपल्लाका स्थानीयवासी मोहनबहादुर पातलीले बताए । जिल्लामा वर्षको एक पटक दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने भएकाले त्यसो नगर्न पनि यहाँका स्थानीयवासीले अनुगमन समितिलाई सुझाव दिँदै आएका छन् ।

नागरिकको स्वास्थ्य सुरक्षामा व्यापारीहरु निकै सचेत भएकाले अहिले यहाँका बजारमा खासै अखाद्य वस्तु विक्री वितरण नहुने गरेको आफूले अनुगमनका क्रममा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए । गएको वर्ष भदौ महिनामा गरिएको अनुगमनमा जिल्लाको पिपल्ला बजारबाट मात्रै रु २५ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको थियो । जिल्लामा अखाद्य वस्तु विक्री वितरण गर्ने कुनै पनि व्यापारीलाई हालसम्म कारवाही नभएका कारण पनि अखाद्य वस्तु विक्री वितरणले प्रश्रय पाउँदै आएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *