ब्राजिलमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार

डिसी नेपाल
२५ असोज २०७७ १५:२६

रियो दे जेनेरियो। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ।

कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाभाइरसले गर्न सक्ने क्षतिलाई बेवास्ता गर्नु भएको आरोप लागिरहेका बेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो। राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमहरुलाई बेवास्ता गर्दै ठुल्ठूला सभाहरु गरेका थिए।

उनले गभर्नर र मेयरहरुले लकडाउन गर्न र कडा नियमहरु अगाडि सारे पनि त्यसलाई अस्वीकार गरेका थिए। यहीबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो।

तर पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ। विगत एक डेढ महिनाको अवधिमा भाइरसको वृद्धिदरमा कमी देखिएको छ। विगत सात दिनमा दैनिक ५९८ जनाको मृत्यु भइरहे पनि यो गत मे महिनाको तुलनामा निकै कम हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *