‘काठमाडौंमा जोखिम बढ्यो, कोरोनालाई हल्का नलिनुहोस्’

डिसी नेपाल
२६ असोज २०७७ ७:१५

काठमाडौं। सरकारले काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेको भन्दै यसलाई हल्का रुपमा नलिन आग्रह गरेको छ। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो आग्रह गरेका हुन्।

‘१० लाख ५० हजार भन्दा बढीको ज्यान लिने रोग सामान्य हुँदै होइन’ मन्त्री ज्ञवालीले भने ‘यसप्रतिको उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्नु हुँदैन।’

उनले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्। उनले हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईंमा पछि परेको बताए।

‘काठमाडौं धेरै हिसाबले देशलाई नमुना दिने, दृष्टान्त प्रस्तुत राजधानी सहर हो’, मन्त्री ज्ञवालीले भने, ‘तर कता कता महामारीविरुद्धको लडाईंमा काठमाडौं पछाडि परेको जस्तो देखिँदैछ।’

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा केही जिल्लाको प्रयास उदाहरणीय भएकाले ति जिल्लाबाट काठमाडौंले सिक्नुपर्ने बताए। उनले त्यहाँ भएको व्यवस्थापन र जनप्रतिनिधिको सक्रियतालाई काठमाडौंले अनुशरण गर्नुपर्नेमा जोड दिए।

ज्ञवालीले महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्ज, उदयपुर जस्ता ठाउँबाट काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थाले सिक्नुपर्ने बताएका हुन्।

अहिले ६० प्रतिशत संक्रमित उपत्यकामा भएको भन्दै उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित भए भयावहस्थिति सिर्जना हुनेतर्फ सचेत हुनुपर्ने बताए।

सामथ्र्य बढ्दै गए पनि स्थिति भयावह बन्दा स्वास्थ्य संरचनाले नधान्ने उनको भनाइ छ। मन्त्री ज्ञवालीले भने, ‘हाम्रो सामर्थ्य बढ्दै गएको छ, तर जुन अनुपातमा संक्रमितको संख्या बढेको छ। त्यसले चुनौती थपेको छ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले चाडपर्व उल्लासका साथ मनाउने भन्दा पनि अभिभावक र मान्यजनलाई कोरोनाबाट जोगाउन सबै सचेत हुनुपर्नेमा जोड दिए। उनले दसैंलगायत चाडपर्वमा सचेत हुनुपर्ने बताए।

‘हाम्रा अभिभावक, ज्येष्ठ नागरिकको सुरक्षा हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ। हाम्रो सानो लापरवाहीले उहाँहरुको जीवनमा जोखिम पुर्‍याउँछ’, उनले भने।

मन्त्री ज्ञवालीले संक्रमणको शृङ्खला बढ्दै जाँदा नागरिकको सचेतना बढी आवश्यक भएकोमा जोड दिए। उनले सामान्य कुरामा ख्याल गरेमात्र कोरोनाबाट बच्न सकिने भन्दै सामाजिक दूरी र मास्कलाई अनिवार्य गर्नुपर्ने बताएको खबर आजको अन्नपूर्ण पोस्टले प्रकाशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *