कर्णालीमा ‘अविश्वास’ : ओलीको गोलमटोल जवाफ, माधवले भने – मुख्यमन्त्री पहिले सच्चिनुपर्छ

डिसी नेपाल
२७ असोज २०७७ ७:२१

काठमाडाैं। कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एव् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्कमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागि परेका छन् । उनले सोमबार पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलगअलग परामर्श गरे।

दाहालले ओलीसँग विहान ९ बजेपछि करिब सवा घण्टा छलफल गरे । स्रोतका अनुसार छफलमा ओलीले आफूले अविश्वासको प्रस्ताव फिर्ता गर्न पहल गर्ने तर प्रदेशसभाका सांसद नै निर्णायक हुने अवस्था देखिएको बताएका थिए । ओलीले अविश्वास प्रस्ताव दर्ता हुनुमा आफ्नो संलग्नता नरहेको पनि बताए । उनले प्रस्ताव फिर्ता गर्ने विषयमा गोलमटोल कुरा गरेका थिए ।

ओलीको समर्थनमा कर्णाली प्रदेशका मुख्ममन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको बुझाइ पूर्वमाओवादी केन्द्र पक्षको छ । दाहालले कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको विवाद तत्काल समाधान नभए अन्य प्रदेशमा पनि यसको असर पर्न सक्ने र पार्टी झन् संकटमा फस्ने बताएका थिए । उनले विवादको सही व्यवस्थापन नगरिए पार्टी एकतामा पनि गम्भीर धक्का लाग्न सक्ने बताएका थिए ।

ओलीलाई भेट्न जानुअघि दाहालले आफ्नै निवास खुमलटारमा पार्टीका वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका थिए । अविश्वास प्रस्तावमा नेपालनिकट सांसदले पनि हस्ताक्षर गरेका छन् । उनले दाहालसँगको भेटमा कर्णाली प्रदेशमा उत्पन्न समस्या मुख्यमन्त्री शाहीमा नै रहेकाले सुधार र आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

उनले कर्णाली प्रदेश सरकारले पूर्वएमालेप्रति विभेद गरेकाले तत्कालै सच्याउनुपर्ने पनि बताएका थिए । ‘उहाँले विभेद गरेको गुनासो प्रदेशका साथीहरुबाट सुनिरहनुपरेको छ । यस्तो अवस्थामा मैले हस्तक्षेप गर्न सक्दिनँ,’ नेपालले भने, ‘उहाँ (मुख्यमन्त्री) मा सुधार आउँछ र मन्त्रिपरिषद्मा समेत विस्तार गरी समस्या समाधान गर्न उहाँ लाग्नुहुन्छ भने म साथीहरुलाई यस्तो कुरा छ मात्र भन्न सक्छु । त्यसका लागि तपाईंले पहल गर्नुहोस् ।’ आजको नागरिक दैनिकमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *