ओलीइतरको जुम मिटिङका रोचक किस्सा : केपीबिरुद्ध अब के चालिएला त कदम?

डिसी नेपाल
२८ असोज २०७७ ८:०६

काठमाडाैं। अहिलेको अवस्था कस्तो भने आफ्नो सरकारसँग आफै डराउनुपर्ने, छुसुक्क भेट्यो कि अङ्गरक्षक वा ड्राइभरबाटै रिपोर्टिङ भैदिने, दूरसञ्चार र एनसेलको सिमबाट कुरा ग-यो–रेकर्ड भएर सीधै सरकार प्रमुखसमक्ष कुरा पुग्ने। यस्तो खतरा आइलागेपछि सञ्चार सम्पर्क र सरसल्लाहको विधि अपनाइएको छ– जुम मिटिङको ।

इन्टरनेटमार्फत भिडियो कलको सुविधायुक्त उक्त प्रविधिअन्तर्गत अघिल्लो मंगलबार सचिवालय बैठक डाकिनु दुई दिनअघि आइतबार बिहान नेकपाका खुमलटारनिकट शीर्ष पाँच नेताको जुम बैठकमा भएको रमाइलो संवाद भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पेलाइबारे त्यसदिन नेताहरुवीच के–के छलफल भयो होला त ? किनभने त्यही छलफलको क्रममै उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम ठुस्किएको थाहा पाएर सम्बन्ध सुधारको लागि बालुवाटारले बोलाएको थियो । र, त्यसयताको सचिवालय बैठक अहिलेसम्म अनिर्णित अवस्थामै छ ।

राजदूत र मुख्यसचिवमा भर्खरै एकलौटी नियुक्ति भएको पृष्ठभूमिवीच जुम मिटिङमा एकजना नेताले ‘अब ओलीजी नसच्चिने नै भए त ?’ भनेर सोधेपछि अध्यक्ष प्रचण्डले ‘अब पनि हामी पार्टी निर्णय र हितभन्दा बाहिर गएर प्रधानमन्त्रीले गर्ने जुनसुकै निर्णयबिरुद्ध माहौल बनाउने र कठोरभन्दा कठोर कदम चाल्न पछि नहट्ने हो भने सहिसाध्य हुन्न । म त्यहीअनुरूप योजना र कदम चाल्छु । कमरेडहरूले पनि त्यसै गर्नुपर्छ । मेरा दुई, तीनजना मान्छे चोरेर प्रधानमन्त्रीले केही गर्न सक्नुहुन्न । किनकि हामीसँग सचिवालयमा बहुमत छ, स्थायी समितिमा झण्डै दुई तिहाई छ र केन्द्रीय समितिमा स्पष्टसँग दुई तिहाई नै पु-याएर देखाउने छौं’ भने ।

‘म त हैरान नै भैसकेँ । पार्टीभित्रको यत्रो रस्साकसी र लफडापछि बल्ल एउटा सहमति गरियो तर प्रधानमन्त्रीले आफूखुसी फेरि राजदूत र मुख्यसचिव नियुक्त गर्नुभयो । दिनदिनै मसँग बालुवाटारमा भेट हुँदा भने त्यस्तो केही कुरा निकालिएको थिएन ।’ अध्यक्षको उक्त कुरो सुन्नेबित्तिकै पूर्व प्रधानमन्त्री झलनाथ खनालले थप्नुभयो ‘मलाई त पहिले नै शंका थियो यिनले पार्टी निर्णय मान्छन् भन्नेमा ।’

अनि वरिष्ठ नेता माधव नेपालले भने, ‘तपाईंहरूले यिनलाई के चिन्नुभएको छ ! मैले त राम्रोसँग भोगेर आएको छु । प्रचण्ड कमरेडले तुरुन्त मिटिङ बोलाउनुस् अनि त्यहिँ छिनोफानो हुन्छ अब ।’

तीनैजना शीर्षस्थ नेताको कुरोमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमले सहि थपे । अनि सबैजनाले बहुमत हुँदाहुँदै आफूहरू पछाडि पर्नुमा गौतमले नै मौकामा लत्तो छाडेको विषय उठाए। त्यहि कुरोलाई संकेत गर्दै खनालले भने ‘अब त वामदेव कमरेडले बुझ्नुभयो होला नि !’ माधव नेपाल पनि के कम, ‘तपाईंले हामीसँग एक वचन पनि सोधनी गर्नुभएन। अब भोग्नुस् केपीलाई। तपाईंले मसक्क आँटेको भए अहिले त्यो किस्सा सिद्धिसक्थ्यो’ भनेर पुरानो कुरा छुस्स कोट्याइदिनुभयो ।

गौतमको कमजोरी र त्यसैमा प्रधानमन्त्रीले खेल्नुभएको विषयलाई केलाउँदै खनालले ‘म पार्टी अध्यक्ष हुँदाहुँदै संसदीय दलमा मलाई हराएर केपीलाई जिताउनुभयो । अनि फेरि माधव नेपाललाई पार्टी अध्यक्षमा हराउनुभयो । त्यहिँबाट तपाईंको साइत बिग्रिएको हो भन्ने मलाई लाग्छ वामदेव कमरेड !’ भन्नुभयो । लगत्तै प्रवक्ता श्रेष्ठले गौतमलाई सोधे– ‘वामदेव कमरेड, किन तपाईंले त्यस्तो गर्नुभएको ?’ वामदेवले झटपट जवाफ दिनुभयो– ‘नत्र के गर्नु त केपीले पार्टी फुटाउन तयार पारेका रहेछन् अनि !’

प्रधानमन्त्रीले पार्टी फुटाउनेसम्मको चाल रचेको भन्ने गौतमको जवाफमा असहमति जनाउँदै माधवले भने, ‘सहाना प्रधान, वामदेव गौतम, आरके, सिपी जस्ताले त पार्टी फुटाएर चलाउन नसक्दा फेरि टाङ्गमुनि छिरेर आउनुपरेको थियो भने वहाँले फुटाउने रे ! झापा आन्दोलनका हस्तिहरूको त त्यो हालत भएको थियो । वहाँले न पार्टीको काम गर्नुभयो, न संगठनको । १४ वर्षचाँहि जेल बस्नुभएको थियो, त्यत्ति हो ।’

सबैको कुरो सुनेपछि गौतमले निकै गम्भीर हुँदै भने ‘मलाई केपीले जति धोका दिनुभयो ती सबै सहेँ । बारम्बार अपमानित भएर पनि बसेँ । मैले व्यक्तिगत रूपमा पाएको धोकालाई ठूलो मानेको छैन । अब पार्टी र देशले थप धोका पाउन भएन भन्ने मात्रै मेरो चाहना हो ।’

जुम मिटिङको बिट मार्ने बेलामा गौतमले फेरि थपे, ‘मैले वहाँलाई पटक पटक सहयोग गरेँ । अब भने थाकिसकेको छु । वहाँलाई मैंले जति सहयोग कसैले गरेको छैन । तर मलाई साह्रै अपमानित गरियो । मेरो केही लागेन । मैले पनि वहाँलाई सुधार्न नसकि निचोड निकालेको छु।’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *