इटालियन फुजी स्याउको उत्पादन वृद्धि

डिसी नेपाल
२९ असोज २०७७ १२:१४

खलङ्गा । जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले बताए ।

चार हजार हेक्टर जमिनमा लगाइएका एक हजार एकसय बिरुवाबाट करिब छ टनसम्म उक्त स्याउ उत्पादन भएको उल्लेख गर्दै उनले भने “फुजी स्याउबाट गत वर्ष रू दुई लाखभन्दा बढी आम्दानी भएकामा यो वर्ष आम्दानी दोब्बर भएको छ ।

फर्ममा दुई टन गोल्डेन डेलिसियस र चार टन रेड डेलिसियस स्याउ उत्पादन भएको भएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको सो फर्मले जनाएको छ ।

जिल्लामै प्रतिकिलो रू एकसय ५० मा सो स्याउ बिक्री हुने गरे पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन भने ग्रेडिङ मेसिन नहुँदा स्याउ प्याकिङमा ढिलाइ भएको व्यवस्थापक शााहीको भनाइ थियो ।

उक्त स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्ला शाखाले सिँचाई तथा मलजलका लागि सहयोग उपलब्ध गराएको थियो भने कृषि विकास कार्यालयले आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा उपलब्ध गराएको थियो ।

चालू आर्थिक वर्षमा उक्त शाखाले २७ हजार इटालियन फुजी स्याउका बिरुवा उपलब्ध गराउने भएको छ । उक्त स्याउको माग र मूल्य बढेपछि जिल्लामा यस वर्ष २७ हजार बिरुवा ल्याएर स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यक्रम रहेको शाखाप्रमुख नवराज भण्डारीले बताए । पाखो र भिरालो जमिनमा पनि स्याउ उत्पादन हुने भएकाले यसको माग बढेको उनको भनाइ थियो ।

नेपालमा उक्त स्याउको नर्सरी स्थापना हुन नसक्दा लाखौ रकम बाहिरिने भएकाले जिल्लामै हाईटेक नर्सरीमा ग्रफ्टिङ गरेर परीक्षण शुरू गरिएको छ ।
गत वर्ष मात्रै २५० बिरुवामा ग्राफ्टिङ गरिएकामा तिनमा फल लाग्ने वा नलाग्ने यो वर्ष टुँगो लाग्छ । परीक्षण सफल भएमा जुम्लामै प्रयाप्त नर्सरी स्थापना गरेर फुजी स्याउ विस्तार गरिने उक्त शाखाले जनाएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *