मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने : नयाँ मन्त्रीबाट ठूलो अपेक्षा छ

डिसी नेपाल
२९ असोज २०७७ २१:३४

काठमाडौं। बिहीबार तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्यो। यो मन्त्रिपरिषद्मा तीनजना नयाँ सदस्यका रुपमा बालुवाटार पुगेका थिए। अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिकमन्त्री लिला श्रेष्ठ नयाँ मन्त्रीका रुपमा बिहीबारको मन्त्रिपरिषद् बैठकमा सहभागी भए।

बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँमन्त्रीहरुलाई स्वागत गर्दै उनीहरुबाट आफूले धेरै अपेक्षा गरेको बताएको एकमन्त्रीले जानकारी दिए। राम्रो कामगर्नेलाई सँधै आफ्नो साथ रहने भरोसा दिलाउँदै प्रधानमन्त्री ओलीले राम्रो काम गरेर देखाउन निर्देशन दिएको ती मन्त्रीले बताए।

प्रधानमन्त्री ओलीले अन्य मन्त्रीहरुलाई पनि ढुक्क भएर काम गर्न निर्देशन दिएका छन्। गएको भदौ २६ गते सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेपछि मन्त्रीहरुले जाँगर लगाउन छोडेको चर्चा छ। यहीबीच प्रधानमन्त्री ओलीले बुधबार रिक्त रहेका तीन मन्त्रालयमा तीनजना मन्त्री नियुक्त गरेका थिए भने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलाई रक्षाबाट हटाएर मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय हेर्ने जिम्मेवारी दिएका थिए। यस्तै महिलामन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका थिए।

प्रधानमन्त्री ओली नयाँमन्त्री भएपछि मिठाई खाने प्रचलन रहे पनि यो पटक कोरोनाको कारण मिठाई खान नपाएको भन्दे ठट्टा गरेको एकमन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओलीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिला श्रेष्ठको खाता बनाएर मिठाई बाँकी लेख्नुपर्ने भनेर ठट्टासमेत गरेका ती मन्त्रीले बताए।

सचिबहरुको ब्यापक सरुवा

बिहीबारको मन्त्रिपरिषद्ले सचिबहरुको सरुवा गरेको छ। एक मन्त्रीका नुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ।

यस्तै प्रधानमन्त्री कार्यालयका सचिव यादव कोइरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, सो मन्त्रालयका सचिव सूर्य गौतमलाई युवा तथा खेलुकद मन्त्रालयमा, जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा एकनारायण अर्याललाई सरुवा गरिएको छ।

यस्तै प्रधानमन्त्रीका कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिब खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *