कर्णाली प्रदेशको विवाद समाधान गर्न प्रचण्ड सक्रिय

डिसी नेपाल
३० असोज २०७७ १०:४०

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै दलका १८ जना सांसदले प्रदेशसभामा अविश्वको प्रस्ताव गर्दा गराएपछि उत्कर्षमा पुगेको विवाद समाधानका लागि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका पदाधिकारीसँग छलफल थालेका छन्।

बुधबार र बिहीबार गरी मुख्यमन्त्री शाही, पार्टी कर्णाली प्रदेश सहइन्चार्ज तथा अविश्वास प्रस्तावको अगुवाई गरेका यामलला कँडेल, पार्टी कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, अविश्वास प्रस्ताव पेशपछि हटाइएका प्रमुख सचेतक गुलावजंग शाह, कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वालालगायतका नेताहरु काठमाडौं आइपुगेका थिए।

उनीहरुसँग अध्यक्ष प्रचण्डले विवाद समाधान गर्ने उद्देश्यले छलफल गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

‘अहिले कर्णाली प्रदेशका पदाधिकारी काठमाडौंमा हुनुहुन्छ, उहाँहरुसँग अध्यक्ष प्रचण्डले छलफल गरिरहनु भएको छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘अध्यक्ष प्रचण्डले छलफल गरिसकेपछि एक दुई दिनमा दुवै अध्यक्ष बसेर विवाद समाधान गर्नुहुनेछ।’

यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्र पठाउन कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं आउन निर्देशन दिएका थिए।

कर्णालीमा पूर्व एमालेहरु एकजुट तथा तीन पूर्व माओवादीका विधायकले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। शनिबार दर्ता गरिएको प्रस्ताव मंगलबारसम्म आईपुग्दा असफल बन्ने देखिएको थियो।

वरिष्ठ नेता माधव नेपाल समूहका ७ जना र पूर्व माओवादीका तीनै जना विधायकहरु अविश्वास प्रस्तावबाट पछि हटेपछि सो प्रस्ताव असफल हुने देखिएको थियो। त्यसपछि केन्द्रबाट दुई अध्यक्षले मुख्यमन्त्रीसहित पदाधिकारीलाई छलफलका लागि भन्दै काठमाडौं बोलाएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कर्णाली प्रदेशका पदाधिकारीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएका छन्।

प्रचण्डले विवाद समाधान हुने गरी छलफल गरेपछि ओली र प्रचण्ड मिलेर सहमति गराउने र अविश्वासको प्रस्ताव फिर्ता लिने निर्देशन दिने तयारी छ। संभवतः शनिबार दुवै अध्यक्षले संयुक्त रुपमा कर्णाली प्रदेशका पदाधिकारीसँग छलफल गर्नेछन् र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने छन्।

‘यो कर्णालीको मात्रै विषय नभएर सिंगो मेची महाकालीको समस्या हो,’ संसदीय दलका उपनेता नेम्वाङले भने, ‘ कर्णालीमा यो समस्या देएिको भएपनि यो सिंगो एकतासँग सम्बन्धित विषय हो। यसलाई दुई अध्यक्ष र सिंगो पार्टीले गम्भीरतापूर्वक लिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *