घोडाघोडीकी मेयर शिलालेख नै तोड्ने अवस्थामा कसरी पुगिन् ?

डिसी नेपाल
१ कार्तिक २०७७ १८:१७

काठमाडौं। शनिबार सुदूरपश्चिम प्रदेशको कैलालीस्थित घोडाघोडी नगरपालिकामा एक अप्रिय घटना हुन पुग्यो। नगरपालिकाको वडा कार्यालय उद्घाटन गर्न मेयर ममता प्रसाद चौधरी रिबन काट्दैगर्दा उपमेयर प्रेमकुमारी थापा भने भवनमा राखिएको शिलालेख तोडिरहेकी थिइन्।

मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापाले शिलालेखमा ढुंगा हानिन्। मेयर र उपमेयरबीच विवाद हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो।

उपमेयर थापा किन यस्तो प्रतिवादको अवस्थामा पुगिन् ? डिसी नेपालले उनीसँग प्रश्न गरेको छ। उपमेयर थापाले भनिन्, ‘आइतबार म वडा कार्यालयको अनुगमनमा गएकी थिएँ। केही वडा कार्यालयमा शिलालेख राखिएको थिएन। एउटा वडामा राखिएको थियो। त्यसमा उमेर र वडाअध्यक्षसहित वडा सदस्यहरुको नामावली थियो, तर मेरो नाम देखिँन। मेरो मन अमिलो भयो। त्यतिबेला केही भनिन। तर, आज (शनिबार) मेयरसँग यो विषयमा सोधेँ। उहाँले जानजान नाम नराखेको ठाडो जवाफ दिनु भयो, त्यसपछि भने मलाई मेरो इतिहास मेटाउन खोजेको अनुभुति भयो, मैले मेरो पनि नाम हुनुपर्ने बताएँ। उहाँले मान्नु भएन, अनि शिलालेख नै तोड्ने अवस्थामा पुगेकी हुँ।’

उपमेयर थापा आफ्नो नाम नराखेसम्म कार्यक्रम अगाडि बढाउन कुनै पनि हालतमा तयार नभएपछि उनको नाम समावेस गर्न मेयर चौधरी तयार भए। त्यसपछि वडा कार्यालयहरु स्थापना भए।

यस्तो अवस्था कसरी आयो भन्ने प्रश्न मेयर चौधरीलाई पनि डिसी नेपालले सोधेको थियो। चौधरीले डिसी नेपालसँग भने, ‘उहाँको अलि अनुशासन छैन। जसले उद्घाटन गर्छ उसको नाम शिलापत्रमा हुने स्वभाविक कुरा हो। वडा अध्यक्ष र सदस्यहरुले आफ्नो पालामा कार्यालयमा उद्घाटन भएकाले वडाका सबैको नाम पनि राख्नु भयो। तर, उपमेयरको नाम कहाँ राख्ने? उर्हाँ (उपमेयर)लाई सम्झाउन सकिएन। अब आयोजकले नै जे गर्ने हो गर्ला, सबै वडामा मेरो नाम हुनुपर्छ भन्ने उपमेयरको कुरा छ।’

शनिबार उपमेयरले शिलापत्रमाथि तोडफोडको प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, यसका पछाडी शनिबारको कुरामात्र गर्नु अधुरो हुन्छ। एउटै पार्टी तत्कालिन एमालेबाट विजयी हुन् मेयर चौधरी र उपमेयर थापा। तर, उनीहरुबीच कहिल्यै पनि कुरा मिल्दैन भन्ने दुबैको कुराले संकेत गर्छ।

उपमेयर थापाले डिसी नेपालसँग भनिन्, ‘उहाँ (मेयर)ले सँधै हेप्ने प्रवृति देखाउनु हुन्छ। मेरो कारणले बदनाम भएँ भन्नु हुन्छ। म पनि निर्वाचित जनप्रतिनिधि हुँ। मैले पनि दिदिबहिनीको कुरा सुन्नुपर्छ। उनीहरुको पक्षमा बोल्नु पर्छ।’

तर, मेयर चौधरी भने उपमेयर थापा अनुशासनहीन भएको आरोप लगाउँछन्। उनले डिसी नेपालसँग भने, ‘उहाँ (उपमेयर)मा अलि अनुशासनको कमी छ। उहाँ जतिबेला पनि महिला मात्र भन्नु हुन्छ। संविधानले नै उहाँको काम कर्तव्य र अधिकार तोकेको छ। त्यसमा मैले हस्तक्षेप गरेको छैन। अनुगमन समितिको संयोज उहाँ नै हो। म आधिकारिक रुपमा कहिल्यै पनि अनुगमनमा जाने गरेको छैन। न्याय समितिको पनि संयोजक उहाँ नै हो। मैले त्यसमा केही हस्तक्षेप गरेको छैन।’

स्मरण रहोस मेयर चौधरीले यसअघि बोक्सी आरोपमा भएको कुटपिट घटनामा मिलापत्रसमेत गराएका थिए। २०७४ फागुनम एक स्थानीय युवतिमाथि धामी झाँक्रीले बोक्सी भन्दै कुटपिट गरेको घटनाका दोषीलाई मेयर चौधरीले छुटाएका थिए। त्यसपछि तत्कालिन एमालेले उनलाई कारबाही गर्नेसमेत बताएको थियो। यद्यपी उनीमाथि कुनै कारबाही भने भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *