प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या

डिसी नेपाल
२ कार्तिक २०७७ १४:१३

सुर्खेत। धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिए।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन्। गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो। सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ। गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ।

मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आज बिहान घटनास्थल पुगेको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *