फुलपातीदेखि चार दिन बैंकका सबै शाखा बन्द हुने

डिसी नेपाल
४ कार्तिक २०७७ १४:३१

काठमाडौं। दशैको बिदामा फुलपातीदेखि चार दिन बाणिज्य बैंकहरुका सबै शाखा बन्द हुने भएका छन्। बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै शाखाहरु बन्द गर्न निर्देशन दिएको हो।

विगत वर्षहरुमा बैंकहरुले दशैको टिकाको दिनमा पनि सिमित शाखाबाट सेवा दिएपनि यस वर्षभने कोभिड—१९ को संक्रमणको कारण देखाएर शाखा बन्द गर्ने निर्णय गरेका हुन्।

बैंकका शाखाहरु बन्द भएपनि मोवाईल/इन्टरनेट बैंकिङ र एटिएम सेवा पनि नियमित रहनेछ। कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत संघले आग्रह गरेको छ।

पछिल्ला दिनहरुमा बैंकका कर्मचारीहरुमा पनि संक्रमण बढ्दै गएको र हालसम्म तीन हजार ७ सय भन्दा धेरै कर्मचारीहरु संक्रमित भएको संघले जनाएको छ।

शाखाहरुमा भिड
नेपालीहरुको ठूलो पर्व बडादशै लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुको शाखामा निक्षेप झिक्नेको भिड बढेको छ।  कोभिड संक्रमण बढ्दै जादा पुनः लकडाउन हुने हल्लाका साथसाथै दशैका लागि रकमको जोहो गर्ने सर्वसाधारणका कारण बैंकका शाखामा भिड बढेको हो।

कोभिड संक्रमणका कारण बैंकहरुले न्यूनतम कर्मचारीबाट सेवा दिएकाले पनि भिड बढि देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले जानकारी दिए।

यसैगरी यसवर्ष नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ खुद्रा नोट सटही नगरेका कारण पनि बैंकका शाखाहरुमा रकम सटही गर्न जाने बढेका छन्।  राष्ट्र बैंकले नयाँ नोट नदिएपनि बैंकहरुले आफ्ना ग्राहकहरुलाई सफा नोट दिइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *