दशैं भत्ता विवाद : निजामती कर्मचारी भन्छन्-दशैं भत्तामात्र हैन तलब दिन तयार छाैं

तर्कबहादुर थापा
५ कार्तिक २०७७ ८:५९

काठमाडौं। कोरोना कहरका बेला सांसदहरुको खातामा दशैं भत्ता गएपछि चौतर्फी आलोचना भयो। चौतर्फी भएको आलोचना पचाउन नसकेर सांसदहरुले दशैं भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भन्दै फिर्ता गरे।

देशमा महामारी फैलिएका बेला सरकारले जनताको उपचार गर्न नसकिने भन्दै हात उठाएका बेला सांसदहरुको खातामा दशैं खर्च गएपछि आलोचना भएको हो। केही सांसदहरुले महामारीका बेला दशैं भत्ता लिन नसक्ने भनी सामाजिक सञ्जालमा फिर्ता गर्न सरकारलाई आग्रह गरेपछि प्रतिपक्ष नेपाली कांग्रेसले निर्णय नै गरी दशैं भत्ता फिर्ता गरेको थियो। कांग्रेसले भत्ता फिर्ता गरेपछि सरकारमा रहेको नेकपाले पनि सांसदहरुको खातामा गएको दशैं भत्ता स्वरुपको रकम फिर्ता गराएको छ।

संघीय सांसदहरुले दशैं भत्ता फिर्ता गरे पनि प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिले भने रकम फिर्ता गरेका छैनन्। संघीय सांसदहरुले रकम फिर्ता गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका  जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई  लगायत  केही नेताहरुले कर्मचारीको दशैं भत्ता पनि फिर्ता हुनु पर्ने माग राखेका थिए।

एकजना पूर्व कर्मचारी संगठनका नेताले कर्मचारी नेता जस्तो नभएको टिप्पणी गर्दै कर्मचारीको दशैं भत्ता फिर्ता गराउन नहुने बताएका छन्। उनले भने, ‘हामी नेता जस्तो जनताको कामै नगरी तलब खाने मान्छे हैनौं। पढेर लोकसेवा पास गरेर कर्मचारी भएका हौं। नेताहरुले आफ्ना आशेपासेलाई बाँड्ने रकममात्र पनि रोके भने कोरोनाको राम्रो उपचार हुन्छ। नेताहरुले भ्रष्टाचार गर्नका लागि कर्मचारीको दशैं भत्ता कटाउने भन्नु हास्यास्पद कुरा हो।’

कर्मचारी संगठनका पूर्व नेताको कुरा सुनेपछि हामीले बहालवाला निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूण्य  ढकाललाई दशैं भत्ता स्वरुपको रकम फिर्ता गर्नु हुन्छ त भनेर सोधेका थियौं। उनले सरकारले कोभिडको लागि आवश्यक पर्यो भनेर निर्णय गरोस दशैं भत्तामात्र नभइ तलब नै दिएर सहयोग गर्ने बताए।

उनले भने, ‘सांसदज्यूहरुले के गर्नु भएको छ त्यो उहाँहरुको कुरा हो। जहाँसम्म कर्मचारीहरुको दशैं भत्ता सम्बन्धमा कुरा आएको छ। त्यो विषयमा कुरा गर्दा हामी सरकारलाई आवश्यक परेको खण्डमा दशैं भत्तामात्र हैन तलब नै दिन पनि तयार छौं। हामीले पहिलेदेखि नै भन्दै आएका छौं। सहयोग गरेका पनि छौं। ट्रेड युनियनकै तर्फबाट १५ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेको पनि हो। व्यक्तिगत सहयोग पनि कर्मचारीले आ–आफ्नो ठाउँबाट गर्दै आएका पनि छन्।’

आधिकारिक ट्रेड युनियन मात्र नभएर अन्य ट्रेड युनियनहरुले पनि ५/७ लाख रुपैयाँ सरकारलाई सहयोग गरिसकेको र अझै पनि गर्न सकिने उनले बताए। उनले भने, ‘हामी आधिकारिकट्रेड युनियनमात्र हैन अन्य युनियनहरुले पनि कसैले ५ लाख, कसैले ७ लाख यसभन्दा पहिला पनि सरकारलाई सहयोग गरेका छन्।’

उनले अगाडि भने, ‘नेताहरुले जस्तो कर्मचारीको तलब भत्तामा जनताले विरोध नगरेको उनको भनाइ छ। उनले भने, ‘नेताहरुले दशैं भत्ता लिनुभयो चौतर्फी विरोध भयो। कर्मचारीले लिएकोमा कतै विरोध भएको सुन्नु भएको छ। उहाँहरुको विरोध किन भयो भन्ने कुरा उहाँहरुले नै बुझ्नु भएको छ। तर, उहाँहरु आफ्नो गलत चरित्र जनता सामु उदाङ्गो हुन्छ भनेर पनि तथ्य बङ्ग्याउन यस्ता कुरा बोल्नु हुन्छ जस्तो मलाइ लाग्छ। उहाँहरुलाई स्वतन्त्रता छ बोल्ने बोल्ल दिनुस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *