भौतिक पूर्वाधारलाई तीव्रता दिइन्छः मन्त्री श्रेष्ठ

डिसी नेपाल
५ कार्तिक २०७७ २२:०२
36
Shares

लहान । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले आफ्नो कार्यकालमा सिरहा जिल्लाको भौतिक पूर्वाधार विकासलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सिरहा आइपुगेका मन्त्री श्रेष्ठले आज गोलबजार नगरपालिका –७ चोहर्वामा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैै जिल्लाको सडक सञ्जाल विस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन र आवास कार्यक्रमलाई तीव्र रुपले अगाडि बढाइने बताए ।

त्यसका लागि लगडीगदियानी गोलबजार सडक, मिर्चैया सोलु सडक, चोहर्वादेखि भारतीय सीमासम्म जोड्ने सडकका लागि बजेट विनियोजन भई बोलपत्र आह्वान प्रक्रियामा रहेको जानकारी दिए ।

सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गोलबजार र सिरहा नगरपालिका तथा नरहा, विष्णुपुर र अर्नमा गाउँपालिकाका दलितको सघन बसोेबास रहेका गाउँमा सामुदायिक भवन निर्माण, भूमिहीनका लागि आवास कार्यक्रमलाई समेत प्रथामिकतामा राखेर प्रक्रिया अघि बढाइएको समेत बताए।

सिरहाका धनगढी, सुखीपुर, चोहर्वा र विष्णुपुरमा १५÷१५ शय्याको अस्पतालका लागि समेत बजेट विनियोजन गरी काम अगाडि बढिसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले चोहर्वा अस्पतालका लागि जग्गादाताले जग्गासमेत दिइसकेकाले बडादशैंँकै अवधिमा अस्पतालको शिलान्यास गरी निर्माण प्रक्रिया थालिने जानकारी दिए । सो अवसरमा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहलगायत जनप्रतिनिधि तथा नेताकार्यकर्ताले मन्त्री श्रेष्ठलाई फूलमालाबाट स्वागत तथा सम्मान गरेका थिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *