कोरोनाभाइरस आएपछि लाखौंको ज्यान लिने अर्को रोग हरायो

डिसी नेपाल
९ कार्तिक २०७७ १३:३३

काठमाडौं। जाडोको मौसम सुरु हुन लागेसँगै विश्वभरीका विशेषज्ञहरुले कोरोनाभाइरसको महामारी झनै विकराल हुन सक्ने चेतावनी दिएका थिए । चिसो मौसम फ्लुको प्रकोप बढ्ने समय भएकोले फ्लु र कोरोनाभाइरस दुवैको संक्रमण एकैपटक हुन सक्ने र स्थिति गम्भीर बन्न सक्ने विशेषज्ञको चेतावनी थियो । तर, पछिल्लो समय तथ्यांकको विश्लेषण गर्दा निकै आश्चर्यजनक नतिजा देखिएको छ । वैज्ञानिकहरुले पछिल्लो समय फ्लुको प्रकोप हराउँदै गएको पाएका छन् । केही विशेषज्ञहरुको थ्योरीले कोरोनाभाइरसकै कारण फ्लुको संक्रमणका केसहरु घट्दै गएको हुन सक्ने संकेत देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको सर्भिलान्स डाटाबाट फ्लुका केसहरुमा अत्याधिक कमी आएको पाइएको डेलीमेलले जनाएको छ । विश्वव्यापी स्तरमा फ्लुका केसहरुमा अघिल्लो वर्ष सोही समयको तुलनामा ९८ प्रतिशतसम्म कमी आएको पाइएको रिपोर्टमा उल्लेख छ । अस्ट्रेलियामा यस वर्षको अप्रिलमा फ्लुका केवल १४ केस भेटिएका थिए । जबकि २०१९ को अप्रिलमा ३६७ फ्लुका केसहरु पाइएका थिए । अर्थात अस्ट्रेलियामा २०१९ को अप्रिलको तुलनामा २०२० को अप्रिलमा फ्लुका केसहरुमा ९६ प्रतिशत कमी आएको देखिएको छ ।

जून महिनामा अघिल्ला वर्षहरुमा फ्लुका केसहरु उच्चतम विन्दूमा हुन्थे तर २०२० को जूनमा अस्ट्रेलियामा फ्लुका कुनै पनि केस पाइएनन् । जून महिना अस्ट्रेलियामा सबैभन्दा जाडो हुने महिना हो । स्मरणीय छ अस्ट्रेलिया दक्षिणी गोलार्द्धमा पर्छ र उत्तरी गोलार्द्धमा रहेको नेपाललगायतका क्षेत्रमा जाडो महिना हुँदा अस्ट्रेलियामा गर्मी हुन्छ र यहाँ गर्मी महिना चल्दा अस्ट्रेलियामा जाडो हुन्छ । जून महिनामा नेपाललगायत उत्तरी गोलार्द्धमा गर्मी महिना चलिरहँदा अस्ट्रेलियामा जाडोको मध्य चलिरहेको हुन्छ । नेपालमा हिउँद सुरु हुन लाग्दा अहिले अस्ट्रेलियामा वसन्त ऋतु चलिरहेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार फ्लु अर्थात इन्फ्लुएन्जा भाइरसबाट विश्वभर हरेक वर्ष अढाइ लाखदेखि ५ लाखसम्म मानिसहरुको ज्यान जाने गरेको छ । लिभरपुल युनिभर्सिटीका भाइरस विशेषज्ञ प्रोफेसर जेम्स स्टिवार्टका अनुसार मानव शरीरको रोग प्रतिरोधी शक्ति पहिलो संक्रमणपछि सक्रिय हुन्छ र भाइरसलाई मार्छ । यही क्रममा यदि कुनै अर्को भाइरस शरीरमा आयो भने त्यसलाई पनि शरीरको प्रतिरोधी शक्तिले मारिदिन्छ । त्यसैले पहिले कोरोना संक्रमण भएपछि मानव शरीरको प्रतिरोधी शक्ति सक्रिय भएको अवस्थामा त्यही शरीरमा फ्लु भाइरसले आक्रमण गर्दा मानव शरीरमा सक्रिय भएको प्रतिरोधी शक्तिले त्यो भाइरसलाई पनि मारेको हुन सक्ने प्रोफेसर स्टिवार्टले बताए ।

सेन्ट जर्ज युनिभर्सिटी अफ लण्डनकी भाइरोलोजिस्ट एलिसाबेट्टा ग्रपेल्लीका अनुसार भाइरस परजीवी हुन् । एक पटक कुनै भाइरस मानव शरीरको कोषमा प्रवेश गर्यो भने त्यो भाइरसले अर्को कुनै भाइरस शरीरमा आओस् भन्ने नचाहने भएकोले शरीरमा पहिले प्रवेश गरेको भाइरसले पछि आउने भाइरसलाई मारिदिएको हुन सक्ने ग्रपेल्ली बताउँछिन् ।

चिलीमा यस वर्ष अप्रिलदेखि अक्टोबरसम्म फ्लुका केवल १२ केस भेटिए । अघिल्लो वर्ष यही समयमा फ्लुका ७ हजार केस भेटिएका थिए । स्मरणीय छ चिली पनि दक्षिणी गोलार्द्धमा पर्छ र त्यहाँ पनि जून महिनामा जाडोको मध्य हुन्छ । दक्षिणी गोलार्द्धमै रहेको दक्षिण अफ्रिकामा पनि फ्लुका केसहरुमा ९९ प्रतिशतसम्म गिरावट देखिएको छ । बेलायतमा मार्चदेखि अहिलेसम्म फ्लुका ७६७ केस भेटिएका छन् । अघिल्लो वर्ष यही समयमा बेलायतमा फ्लुका करिब ७ हजार केस भेटिएका थिए । केही विशेषज्ञले भने फ्लुका केसहरु घटिरहेको विषयमा स्पष्ट राय बनाउनका लागि थप अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *