दशैँको भीडले थप सङ्क्रमणको जोखिम

डिसी नेपाल
९ कार्तिक २०७७ १९:१४

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दशैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढाएको विज्ञले बताएका हुन् ।

कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला परेको दशैं पर्वमा देवी शक्तिपीठमा मेला र उत्सव आयोजना नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको आदेश भएपनि त्यसको पालना भएको छैन ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले चिन्ता व्यक्त गर्दै भने, “सङ्घीय र प्रादेशिक सरकार, स्वास्थ्यसम्बद्ध सरकारी कार्यालय र निकाय एवं स्थानीय प्रशासनले विभिन्न माध्यमबाट भीडभाड नगर्न अपिल गरिरहेका छन्, तर परम्परा थेग्ने नाउँमा जताततै मेला उत्सव, नाचगान र सामूहिक पशुवलि निकै बढेको छ । यसले झन् सङ्क्रमणको खतरा बढाएको छ ।”

धनुषाको जनकपुरधामस्थित राजदेवी मन्दिरमा अष्टमीका दिन राति निकै भीड देखिन्थ्यो । सामुहिक पशुवलि कार्यक्रम नजिकबाट नियालिरहेका भङ्गाहा नगरपालिका–४ का सामाजिक कार्यकत्र्ता रामईश्वर ठाकुरले भने, “पछिल्ला केही महिनायता कोभिड–१९ नियन्त्रण र रोकथाम अभियानमा सामाजिक सङ्घसंस्था र स्थानीय तहको भूमिका नदेखिँदा यस्तो अवस्था आएको हो ।”

महोत्तरीका देवी शक्तिपीठ र मन्दिरमा पनि सामूहिक पशुबलि आयोजना भएको छ । भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा त सङ्क्रमणमा परी दुई दिन पहिलेमात्र एक महिलाको ज्यान गएको देख्दादेख्दै आर्केष्ट्रा (सामूहिक नाचगान प्रदर्शन) आयोजन गरी रातभर मेला आयोजन गरिएको छ । स्थानीय प्रशासनले घटस्थापनाकै दिनदेखि जमघट नगर्न निषेधाज्ञा नै जारी गरेपनि प्रहरी कुनै नियन्त्रण गर्न नसकेको स्थानीय व्यापारी बताउँछन् ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले गत चैतदेखि नै आपूmले आग्रह गर्दागर्दै जमघट नियन्त्रण हुन नसकेको स्वीकार गर्दै भने, “पटक पटक अनुरोध गरिएकै हो । डण्डा वर्षाउने हाम्रो काम होइन । अनुरोध र आग्रहको सुनवाइ हुँदैन ।”

बर्दिवास नगरपालिका–९ का निलकमल बुर्जा चोकचोकमा डिजेबाजामा बज्ने कर्कश स्वरका डिस्को गीतको आवाजले चैनले दशैँ मनाउन नपाइएको दुःखेसो गर्छन्।
हालसम्म प्रदेशका १६५ जनाले कोविड–१९ सङ्क्रमणले ज्यान गुमाईसकेका छन् । प्रदेशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ३३६ (आइतबार बिहानसम्म) पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १३ हजार २७३ निको भएर आआफ्ना काममा फर्केका निमित्त निर्देशक झाले जानकारी दिए । गोपालप्रसाद बराल (रासस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *