सामाजिक दूरी कायम गरी दशैं मनाउन आह्वान

डिसी नेपाल
१० कार्तिक २०७७ ९:४०

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेकी हुन्।

“आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गरेकी छन्।

यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका छन्।

विजय दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्।

दशैँका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उनले पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका सङ्क्रमित छिट्टै कोरोनामुक्त हुने र उहाँहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा व्यक्त गरेका छन्।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्यवस्था गम्भीर बनेका कतिपय सङ्क्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्यवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले तीनै तहका सरकार र आमनागरिकको प्रयासले कोरोना भाइरस नियन्त्रणमा आउने र आगामी चाडपर्व विगत वर्षमा जस्तै उल्लासमय वातावरणमा मनाउन पाउने अवस्थाको अपेक्षासमेत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन्।

उनले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउँदै यिनलाई अपनाउँदै अगाडि बढाउनु आवश्यक रहेकामा जोड दिएका छन्।

चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् भन्दै उनले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी र उचित बनाउन सबै सजग र सचेत रहनुपर्ने बताएका छन्।

अहिले कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *