अमेरिका र बेलायत सफलताको नजिकै, एक महिनामा कोरोनाभाइरसको भ्याक्सिन तयार हुने

डिसी नेपाल
१० कार्तिक २०७७ १३:२१

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिन विकास गर्ने काममा अमेरिका र बेलायत सफलताको नजिकै पुगेका छन् । अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले नोभेम्बर महिनाको अन्त्यसम्म कोरोनाभाइरस भ्याक्सिन तयार हुने जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसमेत रहेका डा. फाउसीले बीबीसीसँग कुरा गर्दै अबको एक महिनामा कोरोना भ्याक्सिन तयार हुने पुष्टि गरेका हुन् । डा. फाउसीले बीबीसीको द एन्ड्रयु मर शोमा नोभेम्बरको अन्त्यसम्म ‘सुरक्षित र प्रभावकारी’ भ्याक्सिन तयार हुन सक्ने बताए ।

अर्कोतर्फ बेलायतको जर्ज इलियट हस्पिटलको नेशनल हेल्थ सर्भिस ट्रस्टका प्रमुख ग्लेन बर्लेले पनि डिसेम्बरको सुरुवातमा भ्याक्सिन तयार हुन सक्ने संकेत गरेका छन् । डेलीमेलले एनएचएस ट्रस्टका प्रमुख बर्लेले आफ्ना सबै स्टाफहरुलाई उनीहरुलाई क्रिसमसभन्दा पहिल्यै भ्याक्सिन दिइने जानकारीसहित पठाएको एक इमेलको हवाला दिँदै डिसेम्बरको सुरुवातसम्म भ्याक्सिन तयार हुने उल्लेख गरेको छ । बेलायतले सबैभन्दा पहिले आफ्ना स्वास्थ्यकर्मीहरुलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाएको छ । बेलायतले क्रिसमसभन्दा पहिल्यै आफ्ना स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन दिन सक्छ ।

अमेरिकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको भ्याक्सिनको ४० करोड डोज सुरक्षित गरिसकेको छ । यसको लागि अमेरिकाले १ अर्ब डलर रकम भुक्तानी गरिसकेको छ । बेलायत सरकारले पनि १० करोड डोज अर्डर गरिसकेको छ । डा. फाउसीका अनुसार अहिले विकास भइरहेका मध्ये कुनै एक भ्याक्सिन सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरुवातसम्म प्रस्ट हुनेछ ।

भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको पुष्टि भएपनि यसको सबैभन्दा धेरै आवश्यकता कसलाई छ भन्ने पहिचान गर्न र वास्तविक आवश्यकतामा रहेकाहरुसम्म भ्याक्सिन कसरी छिटो पुर्याउने भन्ने मुख्य चुनौती हुने डा. फाउसीले बताए । फाउसीले डिसेम्बरसम्म भ्याक्स्नि सुरक्षित र प्रभावकारी रहेको पुष्टि भए पनि सबैलाई भ्याक्सिन दिनको लागि त्यतिबेला पर्याप्त डोज तयार नहुने प्रस्ट पारे । अमेरिकाको सन्दर्भमा कुरा गर्दै डा. फाउसीले अमेरिकीहरुले भ्याक्स्नि पाउन २०२१ को मे महिनासम्म प्रतिक्षा गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *