भारतले आफ्नो मानमर्दन गरिरहँदा प्रधानमन्त्री किन मौन?

जगदीश दाहाल
११ कार्तिक २०७७ १४:०१

भारतीय नाकाबन्दी विरुद्ध चट्टानी अडान लिएर गणतन्त्र नेपालको झण्डै एक्लो राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही राष्ट्रवादी छविको बलमा अहिले झण्डै दुई तिहाइ सरकारको नेतृत्व गरिरहेका छन्।

दोस्रो कार्यकालकै क्रममा भारतले अतिक्रमित गरेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नक्सा संसदबाट पारित गराएपछि ओली गणतन्त्र नेपालको एक मात्र राष्ट्रवादी नेताका रुपमा झन् दरिए।

दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहँदा पनि झण्डै झण्डै सरकार छोड्नुपर्ने परिस्थिति निर्माण हुँदासमेत ओलीले राष्ट्रियताको पक्षमा अडान लिन छोडेका थिएनन्।

सरकारका अन्य तमाम कमीकजारी हुँदासमेत जनताले ओली राष्ट्रवादी भएकै कारण सरकारको चर्को विरोध गरिहालेका थिएनन्। स्थिर सरकार, राष्ट्रियताका पक्षमा अडान लिन सक्ने र केही विकासे एजेण्डालाई पनि अगाडि सारेका ओलीबाट जनताले ठूलो आशा र भरोसा गरेका थिए।

पाँच वर्षे कार्यकालको आधा भन्दा धेरै समय गुजारिसकेका प्रधानमन्त्री ओलीलाई अहिले आएर त्यस्तो के आपत आइलाग्यो जसले गर्दा भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई बालुवाटारमै स्वागत गर्नुपर्यो? कतिपयले के टिप्पणी गरेका छन् भने पद र शक्तिको लागि मानिस कतिसम्म तल गिर्न सक्छ भन्ने उदाहरण पछिल्लो समय ओली बनेका छन्।

ओलीले रअका प्रमुखलाई बालुवाटारमा स्वागत गर्नुले उनले वर्षौं लगाएर बनाएको राष्ट्रवादीको छवि एकैपटक धमिलिएको छ। उनले यसअघि राष्ट्रियताका पक्षमा लिएका कैयौं अडानहरुलाई उनको पछिल्लो कदमले छायाँमा पारिदिएको छ।

भारतीय मिडियाहरुले ओली भारतका अनुकूल आए, पश्चिम नेपालमा सिमाना बढाएर जारी गरेको नक्सा छोडिदिए, हाम्रा जासुस प्रमुखको समकक्षी सरहको व्यवहारमा भारतीय सरकारले नेपालका प्रधानमन्त्री ओलीलाई सँगै राखेर जुन व्यवहार देखायो त्यसले आखिर नेपालको राजनीतिमा सुरुवातमा भारतीय रअको बेबी थिए। अहिले आएर पनि उनी रअकै पेरिफेरिमा समेटिएर भनेर प्रकाशन गर्न थाले।

भारतसँगको सम्बन्ध बिग्रिँदा र बिग्रियो भने आफ्नो पद धरापमा पर्ने र पद खोसिने डरले प्रचण्ड र माधव नेपालभन्दा आफू भारतको निकट व्यक्ति भएको देखाउन र पाँच वर्ष आफ्नो पद सुरक्षित राख्न ओलीले रअ प्रमुखमार्फत भारतसँग सम्बन्ध सुधार गर्न लागेको भन्ने टिका टिप्पणी हुन थालेको छ। प्रधानमन्त्री ओलीले यसअघि भारतसामु नझुक्ने नीति लिनुलाई पनि उनको देखाउने दाँत मात्रै भएको भन्दै आलोचना हुन थालेको छ।

भारतले पछिल्लो समय नेपालका प्रधानमन्त्रीलाई आफू अनुकूल हिँडाउन सहयोगका प्रतिवद्धता गर्ने नीति लिएको र यिनै प्रतिबद्धताहरु नेपालका प्रधानमन्त्रीसमक्ष पुर्याउनका लागि रअका प्रमुख १९ घण्टाका लागि नेपाल आएको चर्चा अहिले राजनीतिक वृत्तमा चल्न थालेको छ।

प्रधानमन्त्री ओली र रअ प्रमुख सामन्तकुमार गोयलबीच राम जन्मभूमि अयोध्या, भारत–चीनका बीचको सीमा विवादमा देखिएको तनाव, लिम्पियाधुरा कालापानीको विवाद र सांसारिक शक्ति राष्ट्रहरुका बीचको ध्रुवीकरणलगायतका विषयमा छलफल भएको दावी गरिएको छ। रअ प्रमुखले ओलीको नउघ्रिएको आँखा उघारिदिएको दावीसमेत गरिएको छ।

दाताको सहायता र विशेष गरी भारत र पश्चिमा मुलुकको सहयोगमा टिकेको हाम्रो जस्तो मुलुक देखाउन र असल सम्बन्ध राख्न चीनसँग हातेमालो गरे पनि भारतप्रति पूरै आक्रामक भएर चल्न सक्दैन। भौगोलिक रुपले पनि भारत हाम्रो लागि चीनभन्दा बढी उपयोगी छ।

अन्तर्राष्ट्रिय दाता संघ संस्था (जो अमेरिकी प्रभावमा छन्) तिनको र भारतको सहयोग बिना हाम्रो मुलुक चल्न सक्दैन भन्ने कुरा ओलीले पनि राम्रै बुझेका छन्। र, रअका प्रमुखले पनि यिनै कुरामा केन्द्रित रहेर ओलीलाई सजग गराएको हुनुपर्छ।

त्यतिमात्रै होइन नेकपाकै नेता माधव नेपाल र प्रचण्ड, तराईबाट विस्तार हुन खोजेको जसपा र त्यसका नेता बाबुराम भट्टराईसमेतलाई औंल्याउँदै आगामी अप्ठेरा सजिलामा भारतको साथ रहन्छ, अमेरिकाको साथ रहन्छ भनेर गोयलले ओलीलाई आश्वस्त पारेको हुनुपर्छ।

उनले भारत–अमेरिका विश्व ध्रुवीकरणमा एकैतर्फ समेटिएको हिसावले तपाइँ भारत अनुकुल हुन र भारतसँग हातेमाले गर्न तत्पर रहनुहोस्, सबै समस्याको एकै बास्केटमा समाधान गर्न भारत तयार छ, तपाईँ अग्रसरता देखाउनुस् भनेर ओलीलाई एकै रातको दुई घण्टे भेटमा गुलियो चटाएर भारतीय रअ प्रमुख फर्किएको भएपनि नेपाली जनता र नेपाली राजनीतिज्ञमा भने यसले धेरै ठूलो नकारात्मक प्रभाव पार्यो र प्रधानमन्त्री ओलीका विषयमा लामो समयसम्म नकारात्मक चर्चा व्याप्त रह्यो।

नरहोस पनि किन, जतिसुकै ईश्वर पोखरेलर र शंकर पोखरेलले प्रधानमन्त्रीको बचाउ गरेपनि यथार्थ कसैबाट छिपेको छैन। सत्य सत्य नै हो। एउटा भारतीय गुप्तचर संस्थाको कर्मचारीले सिधै नेपालमा आएर प्रधानमन्त्रीसँग भेट्नु, डिनर खानु र कान फुक्नु सामान्य कुरा हुँदै होइन। न उनी आउनु अगाडि नेपाल र भारतका मिडियाले जानकारी जनसमक्ष ल्याए, न गइसकेपछि मिडियाले के विषयामा छलफल भयो भनेर जनसमक्ष ल्याए।

बरु भारतीय मिडियाहरुले ओली भारतका अनुकूल आए, पश्चिम नेपालमा सिमाना बढाएर जारी गरेको नक्सा छोडिदिए, हाम्रा जासुस प्रमुखको समकक्षी सरहको व्यवहारमा भारतीय सरकारले नेपालका प्रधानमन्त्री ओलीलाई सँगै राखेर जुन व्यवहार देखायो त्यसले आखिर नेपालको राजनीतिमा सुरुवातमा भारतीय रअको बेबी थिए। अहिले आएर पनि उनी रअकै पेरिफेरिमा समेटिएर भनेर प्रकाशन गर्न थाले।

भारतीय मिडियाले प्रस्ट रुपमा प्रधानमन्त्री ओली भारतसँग सीमाको विषयमा गरिएको दावीबाट पछि हटे भनेर समाचार प्रकाशन गरेका छन्। भारतीय मिडियाबाट भइरहेका यस्ता प्रचारको नेपाल सरकार वा प्रधानमन्त्रीको तर्फबाट खण्डन हुन सकेको छैन। यसले झनै नकारातमक सन्देश प्रवाहित गरिरहेको छ।

नेपाल सरकार र प्रधानमन्त्रीले यो सबै कुराको हेक्का राख्दै वास्तविकता के थियो र भएको के हो? गोयल कसको पहलमा किन र कसरी आए? र, के कुरा भयो? हाम्रो प्रधानमन्त्रीको मर्यादामा आँच आउन सक्ने काम भयो कि भएन? यी सब कुराको प्रधानमन्त्री आफैंले जवाफ दिन अब ढिला गर्नु हुँदैन।

भारतीय मिडियाले नेपाल उसकै इशारामा चल्ने जस्तो भ्रम फैलाइरहेका बेला नेपालको तर्फबाट आफ्नो धारणा नआउनुले यो भ्रमलाई अझै फैलाउन सघाउनेछ । प्रधानमन्त्रीको मौनताले भारतकै दावीलाई समर्थन गरिरहेको जस्तो भान हुन थालेको छ। यो भ्रमलाई समयमै नचिर्ने हो भने प्रधानमन्त्रीको राष्ट्रवादी छवि उदांगिने मात्रै नभएर नेपाल र नेपालीका लागि आउने दिनमा ठूलो दुर्भाग्य र कालो इतिहास कोरिन सक्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *