टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पमा त्यहाँ बस्ने नेपालीको अवस्था के छ ?

डिसी नेपाल
१५ कार्तिक २०७७ ११:४२

काठमाडौं । टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले गर्दा केही भौतिक क्षति भएको देखिएको छ भने कम्तीमा २६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

ग्रीससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा ग्रीसको नियोन सहरमा पनि क्षति पुगेको छ । टर्कीको सरकारी विभागले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । साथै भूकम्प १६ दशमलब ५ किलोमिटर गहिराइमा थियो ।

भूकम्पबाट त्यहाँ रहेका नेपालीहरु भने सुरक्षित रहेको प्रारम्भिक रिपोर्ट आएको छ । गैरआवासीय नेपाली संघ ( एनआरएनए )टर्कीका अध्यक्ष उज्वलकुमार घिसिङ्गका अनुसार नेपालीहरुको कम बसोवास भएको क्षेत्रमा भूकम्प गएको कारणले नेपालीहरु सुरक्षित रहेका हुन् ।

घिसिङ्गले प्रारम्भिक जानकारी अनुसार त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी दिए । ‘अहिले हामी भूकम्पको क्षतिको बिस्तृत विवरण संकलन गर्दैछौ, नेपाली समुदाय छरिएर रहेको छ । एनआरएनएलाई प्राप्त सूचना अनुसार अहिलेसम्म नेपाली समुदाय पूर्ण रुपमा सुरक्षित हुनुहुन्छ’, घिसिङ्गले भने ।

टर्कीमा करिब दुई हजार नेपाली रहेको अनुमान छ । भूकम्पको केन्द्र बिन्दु रहेको इजमिर क्षेत्रमा केही नेपालीहरुले रहेको अनुमान गरिएको छ । उनले भूकम्पबाट कोही नेपाली प्रभावित भएको भए एनआरएनएएको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *