अष्ट्रियामा भएको आतंकवादी हमलामा नेपाली सुरक्षित

डिसी नेपाल
१८ कार्तिक २०७७ १५:१५

काठमाडौं । अष्ट्रियाको राजधानी भिएनामा भएको आतंकवादी हमलामा त्यहाँ रहेका नेपाली सुरक्षित रहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाका अध्यक्ष विनोद चौलागाँईले त्यहाँ रहेका नेपालीहरुलाई कुनै पनि क्षति नभएको जानकारी दिएका छन्। ‘हमलामा अहिलेसम्म कुनै पनि नेपालीलाई क्षति भएको भन्ने जानकारी हामीलाई छैन,’ अष्ट्रियाबाट डिसी नेपालसँग टेलिफोनमा उनले भने, ‘हामी हाम्रा विभिन्न संयन्त्रमार्फत थप कुराहरु बुझिरहेका छौँ । अहिलेसम्म नेपालीहरु सुरक्षित नै रहेको भन्ने जानकारी पाएका छौँ ।’

उनले अष्ट्रियामा रहेका नेपाली समुदायलाई सरकारले तोकेको नियमहरु पालना गर्दै सुरक्षित रहन आग्रह गरेका छन् । नेपालीहरुलाई कुनै सहयोग चाहिएमा एनआरनएका प्रतिनिधि तथा तथा नेपाली राजदूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्।

हमला भएका एरियालाई अहिले त्यहाँको सरकारले ‘लक’ गरेको चौलागाँईले बताए । बन्देज गरिएका एरियाहरुमा नेपालीलाई नजान उनले आग्रह गरेका छन् । अष्ट्रियामा एक हजारभन्दा बढी नेपाली रहेको एनआरएनएको अनुमान छ।

भिएनास्थित प्रहरीका अनुसार सोमबार भियनाको विभिन्न ठाउँ र स्वीडेनप्लाचमा भएको आंतककारी हमलामा अहिलेसम्म चार जनाले ज्यान गुमाएका छन् । त्यस्तै १५ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । त्यस्तै एक जना आक्रमणकारी पनि मारिएको बताइएको छ।

राइफलसहित आएका व्यक्तिहरूले ६ वटा फरक स्थानमा गोली चलाउन थालेको प्रहरीले जनाएको छ । प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको जनाइएको छ । घटनालाई अष्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा घृणित आतङ्कवादी हमला भनेका छन्।

हमलामा ज्यान गुमाउनेहरुको सम्मानमा अष्ट्रियन सरकारले तीन दिनसम्म शोक मनाउने निर्णय समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *