रअ प्रमुख र सेना प्रमुखको नेपाल भ्रमणपछि नेपाल–भारत सम्बन्धमा सुधार आउला ?

खेमराज थापा
२१ कार्तिक २०७७ १८:४३

काठमाडौं। भारतीय थलसेना प्रमुख जर्नेल मनोज मुकुन्द नरवणे र भारतीय गुप्तरच एजेन्सी रिसर्च एण्ड एनालाइसिस विंग्स (रअ)का प्रमुख सामन्त कुमार गोयलले केही दिनको फरकमा नेपालको भ्रमण गरेर ृच्च भेटवर्ता गरेका छन्।

दुई भारतीय सुरक्षा अधिकारीको भ्रमणपछि नेपाल र भारतको चिसिएको सम्बन्धमा न्यानोपन आउला भन्ने बहस शुरु भएको छ। गएको बुधबार काठमाडौं पुगेका जर्नेल नरवणेले शुक्रबार भारतफर्किनु अघि प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथी पदवीबाट विभुषितसमेत गरेकी छन्।

यी दुई भारतीय उच्च अधिकारीको नेपाल भ्रमणपछि कूटनीतिक मामिलाका जानकारहरु आशावादी देखिएका छन् भने सरकार उत्साहित देखिएको छ। लामो समय औपचारिक तहमा कुराकानी बन्द भएको बेला भारतीय उच्च अधिकारीको यो भेटपछि राजनीतिक तहमा वार्ताको ढोका खोल्न सहयोगी हुने नेपालको विश्वास छ।

भारतले २०१९ को अगस्टमा भारत प्रशासित जम्मू कश्मीरको विशेष अधिकार खारेज गरेपछि प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेपछि शुरु भएको नेपाल र भारतबीचको नक्सा विवाद नेपालले गएको वैशाखमा नयाँ नक्सा संसदबाट अनुमोदन गरेर ती भूमिहरु आफ्नो नक्सामा समेटेपछि झन बढ्यो।

नेपालले नयाँ नक्सा जारी गरेको विषयले नेपाल र भारतबीच वार्ताको वातावरण विग्रिएको भन्दै भारतले त्यसपछि नेपालसँग कूटनीतिक मौनता साँधेपछि इतिहासमै नेपाल र भारतबीचको सम्बन्ध तल्लो स्तरमा पुगेको बहस भयो। नेपालले पटक पटक भारतसँगको वार्ताको पहल गर्दा पनि भारतले चासो नदेखाएको प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पटक सार्वजनिक गरेका थिए।

यहीबीचमा पहिला रअ प्रमुख र पछि सेना प्रमुखको नेपाल भ्रमणले सकरात्मक सन्देश दिएको नेपाल सरकारको बुझाई छ। जर्नेल नरवणेसँग शुक्रबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीचको समस्या वार्ताबाटै समाधान हुनेमा जोड दिएको जनाइएको छ। जर्नेल नरवणेले पनि दुई देशबीचको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने बताएको जानकारहरुले बताएका छन्।

रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भएको भेटले सत्तारुढ दल नेकपामै विरोध भए पनि सरकारले भने उनी भारतीयउ प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएकाले भेटेको भनिरहेको छ। यसपछि पनि सरकार भारतसँगको सम्बन्धमा अब न्यानोपन आउने विश्वासमा रहेको देखिन्छ।,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा भारतीय गुप्तचर एजेन्सीका प्रमुखको भ्रमण र भारतीय सेना प्रमुखको भ्रमणबाट केही नयाँ परिस्थिति बनेको छ। नेपाल र भारतबीच वार्ताको एक श्रृंखला अब अगाडि बढ्ने आशा छ।’

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि जर्नेल नरवणेको भ्रमणमा आशावादी हुनुपर्ने बताए। उनले डिसी नेपालसँग भने, ‘हामी आशावादी हुनुको विकल्प छैन। सैन्य कूटनीति पनि एक कूटनीतिकै अंग हो। यसले पक्कै पनि आपसी विश्वास वृद्धि गर्छ। हामीले पनि हाम्रो कौशल देखाउनु पर्छ।’

नेपाल–सम्बन्धमा यसअघि पनि चिसोपना आउँदा सैन्य कूटनीतिका माध्यमबाट सम्बन्धलाई लीगमा ल्याएको उदाहरण छ। नेपालले नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी खुलाउन तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भूमिका खेलेका थिए। त्यतिबेला पनि नेपालमा ओली प्रधानमन्त्री थिए भने भारतमा मोदी प्रधानमन्त्री थिए। यो बेलामा पनि चिसिएको सम्बन्धलाई न्यानोपन दिन सैन्य कूटनीति उपयोगमा आएको छ।

जर्नेल नरवणेको भ्रमण अघि भारतीय संस्थापन निकट मानिने सञ्चार माध्यमहरुले यो भ्रमण सफल भए विदेश सचिवस्तरमा वार्ताका लागि वातावरण बन्ने बताएका थिए। उच्च भारतीय अधिकारीको हवला दिँदै भारतीय सञ्चार माध्यमले यो भ्रमण सफल भए विदेश सचिव स्तरीय वार्ता हुने सम्भावना रहेको बताएका थिए।

नरवणे आफ्नो तीनदिने नेपाल भ्रमण सकेर शुक्रबार भारत फर्किसकेका छन्। उनको तीन दिनको भेटघाट र छलफलका क्रममा देखिएको माहोल हेर्दा भ्रमण सफल भएको देखिन्छ। यद्यपी यसको अहिले नै आकलन गर्न भने छिटो हुन्छ। भारतका लागि पूर्व राजदूत उपाध्यायले भ्रमण सफल वा असफल भन्ने परिणाममा देखिनुपर्ने बताए। उनले नेपाल र भारतबीचको सीमा समस्या विदेश सचिव स्तरीयबाट समाधान नहुने भन्दै राजनीतिक तहमै वार्ता हुनुपर्ने बताए।

रअ प्रमुखसँग प्रधानमन्त्रीको भेटले भने नेपालमा विवाद निम्त्याएको छ। भारतका लागि पूर्व राजदूत उपाध्यायले पनि यो भेट भने डिजास्टर रहेको टिप्पणी गरे। उनले नेपाल सरकारले रअ प्रमुख मोदीको विशेष दूत भएर नेपाल आएको बताए पनि भारतीय पक्षबाट त्यस्तो भनाई नआएकोले नेपाल सरकारको भनाईलाई विश्वास गर्न नसकिने बताए। तर, जे भए पनि नेपाल आशावादी हुनुको विकल्प भने नभएको उनले बताए।

तर, प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहाकार डा. राजन भट्टराईले बीबीसीसँगको प्रतिक्रियामा रअ प्रमुखको नेपाल भ्रमणका तीन सन्देश रहेको बताएका छन्। उनका अनुसार पहिलो सन्देश ‘भारत नेपालसँग सम्बन्ध सुधार गर्न चाहन्छ’ भन्ने हो। दोस्रो सन्देश ‘दई देशबीच केही समस्याहरु छन्, ती समस्याहरुलाई वार्ताका माध्यमबाट समाधान गर्न सकिन्छ। र भारतले यी समस्यालाई शान्तिपूर्ण तरिकाबाट सुल्झाउन सकिने विश्वास गर्छ’ भन्ने हो। त्यस्तै तेस्रो सन्देश ‘भारत यी समस्या समाधानपछि दुई देशबीचको सम्बन्धलाई नयाँ उँचाईमा लैजान चाहन्छ’ भन्ने हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *