राजनीतिक संगठनको नेतृत्व गरेपछि पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष राई निलम्बित

डिसी नेपाल
२३ कार्तिक २०७७ ११:५१

काठमाडौं। नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई निलम्बनमा परेका छन्। विधान विपरित राजनीतिक संगठनको नेतृत्व गरेको भन्दै उनलाई निलम्बन गरिएको हो। शाखाको विधान विपरित काम गरेको र नेकपा निकट प्रेस संगठन युरोप शाखाको नेतृत्व गरेकोलगायतका आरोपमा निलम्बन गरिएको बताइएको छ।

शनिबार बसेको बैठकले बहुमत सदस्यको हस्ताक्षर जुटाउँदै उनलाई निलम्बन गरेको शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल र वरिष्ठ उपाध्यक्ष दिल्लीराम अम्माइद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

‘संस्थाको विधान र नीति नियमको वैधानिक साझा स्प्रिटलाई कुल्चिँदै संस्थाको साझा भावना, अस्तित्व र समुदायप्रतिको सामूहिक विस्वाशमा समेत आघात पुग्ने गरी राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठन युरोप शाखाको अध्यक्षमा चयन भएपछि संस्था नै विवादमा फसाएका कारण निलम्बन गरिएको हो। पत्रकार महासंघको गत महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारी र सदस्यको प्रस्तावमा राईलाई निलम्बन गरिएका हो,’ विज्ञप्तिमा भनिएको छ। यसलाई अनुमोदन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई सिफारिस गरिएकोपनि विज्ञप्तिमा जनाइएको छ।

राईमाथि महासंघको विधानविपरित विवादस्पद निणर्य गर्ने, अवैधानिक तरिकाले आफूखुशी कार्यसमिति नयाँ व्यक्तिहरुलाई ल्याउने आरोपसमेत लगाइएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विवादास्पद निर्णय गर्ने, सदस्यताको आह्वान नगरी अवैधानिक तरिकाबाट सदस्य बनाई कार्यसमितिको पदाधिकारीमा ल्याउने, महासंघको सदस्य बनाउँदा न्युनतम योग्यता हुनुपर्ने वैधानिक व्यवस्थालाई लत्याएको, विवादास्पद र संगठनको गरिमालाई ख्याल गर्न नसक्ने ब्यक्तिहरुबाट बारम्बार स्मारिका वा केन्द्रीय कोषको नाममा चन्दा उठाएका आरोपबारे चित्तबुझ्दो जवाफ नदिएको हुँदा यस विषयमा केन्द्रको ध्यानाकर्षण गराइसकिएको छ।’

पटक–पटक शाखाको बैठक बोलाउन माग गर्दापनि डेढ वर्षमा एकपटक मात्रै बोलाएर मनपरी गरेको आरोप पनि उनी माथि लगाइएको छ। राईलाई निलम्बन गरेपछि वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईलाई शाखाको कार्यवाहक अध्यक्षको जिम्मावारी समेत दिइएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *