नेपालमा सिद्धान्त र एजेण्डाको राजनीति कहिले हुन्छ ? – Dcnepal

नेपालमा सिद्धान्त र एजेण्डाको राजनीति कहिले हुन्छ ?

लोकतन्त्र भनेको राजनीतिक दलहरुले जनताको विश्वास जितेर जनताको मत प्राप्त गरी आफ्नो राजनैतिक अधिकार प्राप्त गर्ने विधि हो। यो विधिमा दलहरुले आफ्नो नीति र सिद्धान्तलाई जनतामा स्थापित गराएर सरकार गठन गर्छन्।

दलहरुको नीति, सिद्धान्त र कार्ययोजनाको जनताले तुलना गर्छन् र आफ्नो लागि उपयुक्त दल रोजेर त्यसका लागि मतदान गर्छन्। अहिले विश्वका अधिकांश मुलुकमा यही प्रक्रिया अनुसार सरकार गठन र संचालन हुने गरेका छन्।

भर्खर मात्रै विश्वको महाशक्ति राष्ट्र अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ। जनताले विश्वास गरेका राजनीतिक दलको उम्मेद्वार त्यहाँ पनि राष्ट्रपतिमा चयन हुने हो। सरकारमा रहँदा राम्रो काम गरेको नगरेको मूल्याकंन अमेरिकी जनताले भर्खरै मात्र गरेका छन्।

नेपालमा पनि विभिन्न समयमा ‘अहपरण’ मा परेको लोकतन्त्रले अहिले फक्रिने मौका पाएको छ। यो लोकतन्त्र परिपक्व हुँदै नेपाली जनताले स्वेच्छाले आफ्नो नेतृत्व चयन गर्ने र त्यो नेतृत्वले नेपाली जनताको चाहनाबमोजिम काम गर्ने राजनीतिक परिपाटी बनाउने अपेक्षा गरिएको हो।

नेपालका राजनैतिक दलले परिपक्व हुँदै राजनीतिक संस्कार देखाउँछन् भन्ने नेपाली जनताले अपेक्षा गरेका हुन् किनकि नेपालमा कलिलैमा निमोठिएपछि राजनैतिक दलले फस्टाउने मौका पाएको तीन दशक मात्र भएको छ । तर जनताले गरेको अपेक्षाजस्तो नेपालका राजनीतिक दलले जनअपेक्षा अनुसारको व्यवहार र चरित्र देखाउन सकेका छैनन्।

आवधिक निर्वाचन प्रणाली अपनाएको हाम्रो मुलुकमा अहिले नेकपाको बहुमतको सरकार छ। यो सरकारले आफ्नो आधा कार्यकाल बिताइसकेको छ। अबको दुई वर्षपछि हुने निर्वाचन जित्नलाई पनि वर्तमान सरकारले जनहित र जनअपेक्षा अनुसार काम गर्ने जनताले विश्वास गरेका थिए।

तर अहिले सकारको काम गराइ हेर्दा र नेकपा भित्रको विवाद हेर्दा मुलुक र आम नागरिकलाई नजरअन्दाज गर्ने, समय र परिस्थितिलाई मजाकको रुपमा उडाउने र आफू जिम्मेवार राजनीतिक दल हो भन्ने हेक्कासमेत नराखी व्यवहार गरेको देखिन्छ।

भागवण्डाको राजनीतिक मौलाएको र स्वार्थको लडाइँ उत्कर्षमा पुगेको छ। स्पष्ट शब्दमा भन्दा अहिले प्रतिपक्षको सत्तापक्षसँग वा सत्तापक्षको प्रतिपक्षसँग लडाइँ नै छैन। उनीहरु स्वार्थको भागबण्डामा मिलिसकेका छन्। लडाइँ भनेको सत्तापक्षका नेताको आफ्नै दलका नेताहरुसँग लडाइँ छ र प्रतिपक्षको पनि त्यस्तै छ। लडाइँ आफ्नै पार्टीका सहकर्मीहरुसँग छ।

सरकार गैर जिम्मेवार भयो भने त्यसलाई सही बाटोमा ल्याउने काम प्रमुख प्रतिपक्षको हो। प्रतिपक्षलाई वेटिङ सरकार पनि भनिन्छ। तर, वर्तमान स्थितिमा प्रतिपक्षको जिम्मेवारी समेत अपेक्षा गरेअनुरुप छैन।

प्रतिपक्षले भोलि फेरि सत्तामा आउने आधार यो ५ वर्षको अवधिमा तयार गर्नुपर्ने थियो तर त्यो समेत हुन सकेको देखिँदैन। अहिले प्रतिपक्षमा सबैभन्दा पुरानो र लोकतान्त्रिक चरित्र भएको नेपाली कांग्रेस छ तर कांग्रेसले पनि अहिले प्रमुख प्रतिपक्ष दलको जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको छ। कांग्रेस आफैं आन्तरिक किचलोमा रुमल्लिएको छ।

सत्ता पक्ष राजनीतिक दलको नाटक हेरेर वाक्क भएका जनतलाई प्रमुख प्रतिपक्ष दलले पनि त्यही प्रकृतिको नाटक देखाएर वाक्क बनाएको छ। विभिन्न गुट र उपगुटमा विभक्त कांग्रेसभित्र यतिबेला स्वार्थको लडाईँ उत्कर्षमा पुगेको छ। पछिल्लो सत्ता पक्ष होस वा प्रतिपक्ष ती दलभित्र कुनै सैद्धान्तिक वा वैचारिक लडाईँ छैन।

त्यहाँ भागवण्डाको राजनीतिक मौलाएको र स्वार्थको लडाइँ उत्कर्षमा पुगेको छ। स्पष्ट शब्दमा भन्दा अहिले प्रतिपक्षको सत्तापक्षसँग वा सत्तापक्षको प्रतिपक्षसँग लडाइँ नै छैन। उनीहरु स्वार्थको भागबण्डामा मिलिसकेका छन्। लडाइँ भनेको सत्तापक्षका नेताको आफ्नै दलका नेताहरुसँग लडाइँ छ र प्रतिपक्षको पनि त्यस्तै छ। लडाइँ आफ्नै पार्टीका सहकर्मीहरुसँग छ।

राजनीतिक दलले राजनीतिक कुरा गर्नुपर्छ। सिद्धान्तमा आधारित हुनुपर्छ। पार्टीभित्रको विमतिलाई प्रक्रिया वा सिद्धान्तमा राख्नुपर्छ। तर अहिले कांग्रेसभित्र देखिएका विवाद न वैचारिक न सांगठनिक हो, यी विवाद त बाँड्ने खाने, यो तेरो मानिस, उ मेरो मानिस भन्ने जस्ता कुरामा विवाद देखिन्छ।

अमेरिकामा चुनाव हुन सक्छ, भारतमा चुनाव हुन सक्छ, अन्य मुलुकहरुमा चुनाव हुन सक्छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नविकरण गर्न, सदस्यता वितरण गर्न, गाउँ, नगर, क्षेत्रीय र प्रादेशिक कमिटीका भेला वा निर्वाचन गराउन र पार्टीका कार्यकर्ताको भेला अधिवेशन र विधानसम्मत कार्यसमिति चयन गर्न विधानले तोकेको समायावधि भित्र अधिवेशन गर्न, कार्यसमिति चयन गर्ने निर्वाचन गर्न देउवा कार्यकाल लम्ब्याएर कुर्सीमा बसिरहन बहानाबाजी गर्ने, पौडेल मलाइ यो भएन उ भएन भनेर नाटक देखाइराख्ने? नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीलाई सुहाउने विषय हो?

यी घ्यू बेचुवा र तरवार बेचुवा जस्ता भेद भएका पात्रहरु देउवा र पौडेललाई नेपाली कांग्रेसको नेतृत्वबाट विस्थापित नगरेसम्म कांग्रेस कांग्रेस रहने भएन। मुलुक र जनतालाई नेतृत्व दिन सक्ने भएन। सत्तापक्ष कम्युनिष्टलाई सही बाटो हिँड्न र घचघच्याउन सक्ने भएन।

संसारले हेर्दा र देख्दा वैकल्पिक सरकार दिन कांग्रेस तयार छ भनेर बुझ्नुपर्ने, तर नेपाली कांग्रेस भने नेकपा भन्दा तल्लो समयमा झरेर विवादमा समय बिताउने हो भने मुलुकको भविष्य कस्तो होला भन्ने विषयका के कल्पना गर्ने?

नेपाली कांग्रेसले सद्बुद्धि लिओस, समयमै कार्यकर्ताले कार्यकर्ता हुँ भन्ने परिचय क्रियाशील सदस्यको परिचयपत्र खल्तीमा बोक्न पाउने वातावरण हुनुपर्छ। आ–आफ्ना प्रतिनिधि निर्वाचित गर्न पाउने र नेपाली कांग्रेसलाई सशक्त र जिम्मेवार नेतृत्व चयन गरेर मुलुक हाक्ने आम नागरिक समाच डोर्याउन सक्ने कांग्रेस बनोस यो सबै प्रजातन्त्रवादी नागरिकको चाहना हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो